बुढानीलकण्ठ हेरिटेज लिमिटेडले साढे ८ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक समूहको अवितरित हकप्रद शेयरअन्तर्गत ८ लाख ५४ हजार २८१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो, जसमा संस्थापक शेयरधनीसँगै सर्वसाधारण लगानीकर्ताले पनि आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको शेयरका लागि संस्थापक समूहका लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र बाह्य व्यक्ति वा संस्थागत लगानीकर्ताले न्यूनतम २० हजार कित्ता खरिदका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। शेयरको न्यूनतम मूल्य प्रति कित्ता १५० रुपैयाँ तोकिएको छ, अर्थात् सो मूल्य वा सोभन्दा बढी कबोल गरी आवेदन दिन सकिनेछ।
शेयर खरिदका लागि पुस २८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। इच्छुक लगानीकर्ताले आवेदन बुढानीलकण्ठस्थित कम्पनीको रजिस्टर्ड कार्यालय, होटल लेमन ट्री प्रिमियरमा बुझाउनुपर्नेछ।
