काठमाडौं । नेपालमा पठन संस्कृति सुदृढ गर्दै गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र अक्सफोर्ड युनिभर्सिटी प्रेस (OUP) इन्डियाबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । काठमाडौंमा सम्पन्न कार्यक्रममा हस्ताक्षर भएको उक्त समझदारीलाई नेपालका विद्यालयहरूमा दीर्घकालीन शैक्षिक सुधार र पठन संस्कार विकासतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।
गुणस्तरीय शिक्षाको क्षेत्रमा ३५ वर्षदेखि सक्रिय प्याब्सन र विश्वप्रसिद्ध शैक्षिक प्रकाशक OUP इन्डियाबीच भएको यस सहकार्यले नेपालभरका विद्यालयहरूमा विश्वस्तरीय शिक्षण अभ्यास, योजनाबद्ध पठन कार्यक्रम तथा शिक्षक–नेतृत्व विकासलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ । देशभर ९ हजारभन्दा बढी निजी तथा आवासीय विद्यालयहरूको प्रतिनिधित्व गर्दै आएको प्याब्सनले विद्यार्थीहरूको समालोचनात्मक सोच, सिर्जनशीलता र आजीवन सिकाइ क्षमताको विकासका लागि पठन संस्कृतिलाई प्रमुख आधार मानेको जनाएको छ ।
कार्यक्रममा वक्ताहरूले विश्वव्यापी रूपमा विद्यार्थीहरूमा पठन बानी कमजोर हुँदै गएको सन्दर्भ उल्लेख गर्दै, सही पुस्तक, अनुकूल सिकाइ वातावरण र योजनाबद्ध पठन अभ्यासमार्फत सक्रिय पाठक निर्माण अपरिहार्य रहेको धारणा राखे । परीक्षा–केन्द्रित शिक्षण प्रणालीभन्दा पर गई सिकाइको वास्तविक उद्देश्य, आधुनिक शिक्षण दर्शन र अन्तर्राष्ट्रिय शैक्षिक अभ्यासलाई आत्मसात् गर्न विद्यालय नेतृत्व र शिक्षकहरूलाई निरन्तर सशक्त बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डियाले विद्यालयस्तरमा पठन संस्कृतिको प्रवर्द्धनलाई आफ्नो मुख्य लक्ष्यका रूपमा अघि बढाउँदै आएको उल्लेख गर्दै प्याब्सनसँगको सहकार्यप्रति प्रतिबद्धता जनाएको छ । प्याब्सन केन्द्रीय समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीले OUP सँग भएको समझदारीलाई नेपाली विद्यालय शिक्षाका लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै, पठन संस्कार बिना गुणस्तरीय शिक्षा सम्भव नहुने स्पष्ट पारे ।
समझदारीअनुसार OUP ले विश्वभर मान्यता प्राप्त च्भबम धष्तज इहायचम श्रृंखला अन्तर्गत ५० पुस्तक समावेश गरिएको विशेष प्याक प्याब्सन सदस्य विद्यालयहरूलाई सहुलियतपूर्ण दरमा उपलब्ध गराउनेछ । यसले नेपाली विद्यार्थीहरूलाई स्तरअनुसारका गुणस्तरीय पठन सामग्रीमा पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ । साथै, च्भबम धष्तज इहायचम स्रोत प्रयोग गर्ने विद्यालयहरूका शिक्षकहरूका लागि OUP को व्यावसायिक विकास टोलीमार्फत विशेष अनलाइन तालिम कार्यक्रम सञ्चालन गरिनेछ ।
यसैगरी, प्याब्सनद्वारा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलन, प्रादेशिक नेतृत्व शिविर तथा अन्य नेतृत्व विकास कार्यक्रमहरूमा OUP ले अन्तर्राष्ट्रिय प्रशिक्षक र मुख्य वक्ताहरू उपलब्ध गराउने समझदारी भएको छ । विद्यालय नेतृत्व क्षमताको अभिवृद्धि तथा विश्वस्तरीय उत्कृष्ट अभ्यासहरूको प्रयोगमा यसले सहयोग पुर्याउने विश्वास लिइएको छ ।
समझदारी अन्तर्गत प्याब्सन केन्द्रीय कार्यालयमा स्रोत तथा सिकाइ केन्द्र स्थापना गरिनेछ, जहाँ नमुना पुस्तक, शैक्षिक सामग्री तथा व्यवहारिक सिकाइ स्रोतहरू उपलब्ध हुनेछन् । साथै, सदस्य विद्यालयहरूलाई विद्यालय समयमै पठनका लागि छुट्टै समय निर्धारण गरी पठन संस्कारलाई विद्यालय जीवनको अभिन्न अंगका रूपमा विकास गर्न प्रोत्साहित गरिनेछ ।
कार्यक्रममा प्रतिक्रिया व्यक्त गर्दै OUP इन्डियाका प्रबन्ध निर्देशक सुकान्त दासले नेपालमा शिक्षा क्षेत्रको विकासमा OUP को निरन्तर योगदान रहेको उल्लेख गर्दै, यस सहकार्यले नेपाली शिक्षा प्रणालीमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । प्याब्सन र OUP दुबैले यस समझदारीलाई नवप्रवर्तनशील पाठक निर्माण, शिक्षक क्षमता अभिवृद्धि र दूरदर्शी विद्यालय नेतृत्व विकासको आधारका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
