माघमा पनि बैंक ब्याजदर घट्दो, बचतकर्तालाई स्थिरता

वाणिज्य बैंकहरूले माघ महिनाका लागि पनि मुद्दति निक्षेपको ब्याजदर थप घटाएका छन्। प्रणालीमा तरलता प्रशस्त रहेकाले पछिल्ला महिनादेखि निरन्तर रूपमा ब्याजदर समायोजन गर्दै आएका बैंकहरूले माघका लागि नयाँ, कम ब्याजदर लागू गरेका हुन्।

पुस महिनामा वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा औसत ४.८३४ प्रतिशत ब्याजदर उपलब्ध गराएका थिए। माघका लागि भने यो औसत ०.१४९५ प्रतिशतविन्दुले घट्दै ४.६८४५ प्रतिशतमा झरेको छ।

बैंकहरूको विवरणअनुसार माघ महिनाका लागि ११ वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १ बैंकले ब्याजदर बढाएको छ। बाँकी बैंकहरूले पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

माघमा ब्याजदर बढाउने एक मात्र बैंक प्राइम कमर्सियल बैंक रहेको छ। बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ०.१५ प्रतिशतविन्दुले वृद्धि गर्दै ४.४ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा २.७५ प्रतिशत ब्याजदर तोकेको छ।

यता हिमालयन बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स इन्टरनेश्नल बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले माघका लागि मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्।

व्यक्तिगत निक्षेपतर्फ हिमालयन बैंक र माछापुच्छ्रे बैंकले समान ०.५ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्। माघमा हिमालयन बैंकले व्यक्तिगत मुद्दतिमा ५ प्रतिशत र माछापुच्छ्रे बैंकले ४.५ प्रतिशत ब्याज दिने भएका छन्। यी बैंकहरूले संस्थागत मुद्दतिमा क्रमशः ४ प्रतिशत र ३ प्रतिशत ब्याजदर तोकेका छन्।

सानिमा बैंकले माघमा व्यक्तिगत मुद्दतिमा ४.५५ प्रतिशत र संस्थागतमा ३.३ प्रतिशत, सिद्धार्थ बैंकले व्यक्तिगतमा ४.५५ प्रतिशत र संस्थागतमा २.७५ प्रतिशत ब्याजदर घोषणा गरेको छ। लक्ष्मी सनराइज बैंकले व्यक्तिगत ४.५ प्रतिशत र संस्थागत ३.२५ प्रतिशत, सिटिजन्स इन्टरनेश्नल बैंकले व्यक्तिगत ४.५ प्रतिशत र संस्थागत ३ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ।

यसैगरी कुमारी बैंकले व्यक्तिगत मुद्दतिमा ४.४३ प्रतिशत र संस्थागतमा ३.५ प्रतिशत, एभरेष्ट बैंकले व्यक्तिगत ४.४ प्रतिशत र संस्थागत ३.५ प्रतिशत ब्याजदर तोकेको छ। कृषि विकास बैंकले व्यक्तिगततर्फ ४.४ प्रतिशत र संस्थागततर्फ ७.७५ प्रतिशत, नेपाल एसबिआई बैंकले व्यक्तिगत ४.४ प्रतिशत र संस्थागत २.८ प्रतिशत तथा स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत ४.३६ प्रतिशत र संस्थागत २.७५ प्रतिशत ब्याजदर लागू गर्ने भएका छन्।