विश्वका विभिन्न मुलुकहरूबीचको आवतजावत, भिसा नीति र कूटनीतिक पहुँचको आधारमा तयार पारिने ‘हेनले पासपोर्ट इन्डेक्स २०२६’ सार्वजनिक भएको छ। लण्डनस्थित हेनले एण्ड पार्टनर्सले सार्वजनिक गरेको पछिल्लो सूचीमा यस वर्ष पनि एसियाली मुलुकहरूको दबदबा देखिएको छ भने एक समय शक्तिशाली मानिएका अमेरिका र बेलायतजस्ता देशहरूको प्रभाव क्रमशः घट्दै गएको देखिएको छ।
सिङ्गापुर शीर्षमा
प्रतिवेदनअनुसार सिङ्गापुर विश्वकै सबैभन्दा शक्तिशाली राहदानी भएको देश बनेको छ। सिङ्गापुरका नागरिकले विश्वका २२७ मध्ये १९२ गन्तव्यमा बिनाभिसा वा ‘भिसा अन एराइभल’ यात्रा गर्न सक्छन्।
दोस्रो स्थानमा जापान र दक्षिण कोरिया रहेका छन्। यी दुवै देशका राहदानीधारीले १८८ गन्तव्यमा सहज पहुँच पाउँछन्।
युरोपेली देशहरूको प्रतिस्पर्धा
शक्तिशाली राहदानीको तेस्रो स्थानमा डेनमार्क, लक्जेम्बर्ग, स्पेन, स्वीडेन र स्विट्जरल्याण्ड रहेका छन्, जसले १८६ गन्तव्यमा यात्रा सुविधा पाएका छन्।
त्यसैगरी चौथो स्थानमा अस्ट्रिया, बेल्जियम, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, आयरल्याण्ड, इटाली, नेदरल्याण्ड्स र नर्वे गरी १० युरोपेली देश संयुक्त रूपमा रहेका छन्। यी देशका नागरिकलाई १८५ गन्तव्यमा भिसाको झन्झट छैन।
युएईको उल्लेख्य फड्को
संयुक्त अरब इमिरेट्स (युएई) ले पछिल्लो दुई दशकमा सबैभन्दा ठूलो सुधार गरेको देशका रूपमा आफूलाई स्थापित गरेको छ। सन् २००६ यता १४९ नयाँ गन्तव्य थप्दै ५७ स्थान माथि उक्लिएको युएई हाल १८४ स्कोरसहित पाँचौँ स्थानमा पुगेको छ। यो उपलब्धिलाई उसको सक्रिय कूटनीति र भिसा उदारीकरणको परिणामका रूपमा हेरिएको छ।
अमेरिका र बेलायतको ओरालो
एक समय विश्वकै शक्तिशाली राहदानी मानिने अमेरिका र बेलायतको स्थान भने खस्किँदै गएको छ। बेलायत आठ गन्तव्यको पहुँच गुमाउँदै सातौँ स्थानमा सीमित भएको छ।
अमेरिका १८२ गन्तव्यमा पहुँचका साथ १० औँ स्थानमा रहेको छ। सन् २०२५ को अन्त्यतिर पहिलो पटक शीर्ष १० बाहिरिएको अमेरिका अहिले पनि आफ्नो विगतको प्रभाव फर्काउन संघर्षरत देखिन्छ। २० वर्षअघि चौथो स्थानमा रहेको अमेरिका १० औँ स्थानमा झर्नुलाई विज्ञहरूले घरेलु राजनीति र बदलिँदो भू–राजनीतिक परिवेशसँग जोडेर हेरेका छन्।
कमजोर राहदानीको सूची
सूचीको अन्तिम स्थान (१०१ औँ) मा अफगानिस्तान रहेको छ, जसका नागरिकले मात्र २४ गन्तव्यमा बिनाभिसा यात्रा गर्न पाउँछन्। सिरिया (१०० औँ) र इराक (९९ औँ) पनि सूचीको पुछारमै रहेका छन्।
हेनले पासपोर्ट इन्डेक्सअनुसार नेपालको राहदानी ९५ औँ स्थानमा रहेको छ। नेपाली नागरिकले हाल ३८ देशमा मात्र बिनाभिसा वा भिसा अन एराइभल यात्रा गर्न सक्छन्। यो अवस्था उत्तर कोरिया जस्ता केही देशभन्दा पनि कमजोर देखिएको छ।
छिमेकी मुलुकको सुधार
नेपालका छिमेकी मुलुक चीन र भारतले भने आफ्नो स्थानमा सुधार गरेका छन्। चीन कूटनीतिक सम्बन्ध विस्तारको प्रभावस्वरूप ६२ औँ स्थानमा पुगेको छ। भारत पनि अघिल्लो वर्षको ८५ औँ स्थानबाट सुधार गर्दै ८० औँ स्थानमा उक्लिएको छ। भारतीय नागरिकले अहिले ५५ देशमा सहज यात्रा सुविधा पाउँछन्।
दोहोरो नागरिकताप्रति बढ्दो आकर्षण
प्रतिवेदनले शक्तिशाली देशका नागरिकहरूमा पनि दोहोरो नागरिकताप्रतिको आकर्षण बढ्दो रहेको देखाएको छ। हेनले एण्ड पार्टनर्सका अनुसार सन् २०२५ मा उनीहरूका कुल ग्राहकहरूमध्ये ३० प्रतिशत अमेरिकी नागरिक थिए।
यद्यपि, केही युरोपेली देशहरूले ‘गोल्डेन पासपोर्ट’ कार्यक्रम कडा बनाउँदै लगेका छन् भने अमेरिकामा पनि दोहोरो नागरिकतामाथि प्रतिबन्ध लगाउने प्रस्तावहरू बहसमा आउन थालेका छन्।
