अमेरिकाको भिसा नीतिमा कडाइ, नेपालसहित ७५ देशमा अस्थायी रोक

अमेरिकाले नेपालसहित ७५ देशका नागरिकहरूका लागि आप्रवासी भिसा प्रक्रिया अनिश्चित कालका लागि निलम्बन गरेको छ। अमेरिकी विदेश मन्त्रालयले आगामी जनवरी २१ देखि लागू हुने गरी स्थायी बसोबास अनुमति (ग्रिनकार्ड)को प्रतीक्षामा रहेका ती देशका नागरिकलाई हालका लागि भिसा जारी नगर्ने निर्णय गरेको हो।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अध्यागमन नीतिमा कडाइलाई निरन्तरता दिँदै यो कदम चालेको अमेरिकी अधिकारीहरूले बताएका छन्। विदेश मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा केही देशका आप्रवासीहरूले अमेरिकी समाजमा अस्वीकार्य दरमा सामाजिक कल्याण (वेलफेयर) सुविधा लिइरहेको ठहर गर्दै त्यस्ता देशहरूका लागि भिसा प्रक्रिया स्थगित गरिएको उल्लेख छ। नयाँ आप्रवासीहरूले अमेरिकी सार्वजनिक स्रोत र सम्पत्तिको दोहन नगर्ने सुनिश्चित नभएसम्म यो रोक कायमै रहने मन्त्रालयको भनाइ छ।

यस निर्णयबाट प्रभावित हुने देशहरूको सूचीमा नेपालसँगै अफगानिस्तान, बंगलादेश, भुटान, पाकिस्तान, श्रीलंकासँगै अफ्रिका, युरोप, एसिया, क्यारिबियन र मध्यपूर्वका विभिन्न मुलुकहरू परेका छन्। यद्यपि, विदेश मन्त्रालयले प्रतिबन्धमा परेका सबै ७५ देशको आधिकारिक तथा पूर्ण सूची भने हालसम्म सार्वजनिक गरेको छैन।

सन् २०२५ जनवरीमा पुनः राष्ट्रपति पदको कार्यभार सम्हालेपछि ट्रम्पले कडा अध्यागमन विरोधी एजेन्डालाई प्राथमिकतामा राख्दै आएका छन्। उनले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो देशनिकाला अभियान सञ्चालन गर्ने घोषणा गरेका थिए। यही नीतिअन्तर्गत पछिल्लो एक वर्षमा विभिन्न भिसा कार्यक्रमहरूमा कटौती गरिएको छ भने शरणार्थी स्वीकार गर्ने संख्यामा समेत उल्लेखनीय गिरावट आएको छ।

ट्रम्प प्रशासनले अवैध रूपमा अमेरिका बसिरहेका आप्रवासीहरूलाई नियन्त्रण गर्न प्रमुख सहरहरूमा सशस्त्र अध्यागमन अधिकारीहरू परिचालन गरेको छ। होमल्याण्ड सेक्युरिटी विभागका अनुसार पछिल्लो एक वर्षमा १ लाखभन्दा बढी भिसा रद्द गरिएको छ, जुन हालसम्मकै उच्च वार्षिक संख्या हो। यसै अवधिमा ६ लाख ५ हजारभन्दा बढी मानिसलाई देशनिकाला गरिएको छ भने करिब २५ लाख मानिस आफैँले अमेरिका छोडेका छन्।