इन्द्रावती गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड-२०८२ सुरु, १२ विद्यालयबीच प्रतिस्पर्धा

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा ७औँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ औपचारिक रूपमा सुरु भएको छ। वडा नं. १० स्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयको आयोजनामा भएको उद्घाटन समारोह उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।

प्रतियोगिताको उद्घाटन गर्दै इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल ले खेलकुद र शिक्षालाई एक–अर्काको पूरक क्षेत्रका रूपमा लिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि कक्षा कोठाको पढाइसँगै खेलकुद गतिविधि अनिवार्य रहेको उल्लेख गर्दै गाउँपालिकाले शिक्षा र खेलकुद दुवै क्षेत्रमा निरन्तर लगानी र प्राथमिकता दिँदै आएको बताउनुभयो।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष शशिनाथ आचार्य ले खेलकुदले अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गराउने बताउँदै विद्यार्थीको प्रतिभा पहिचानमा यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गर्नुभयो। वडा नं. २ का अध्यक्ष श्यामबहादुर गिरी ले खेलकुदमार्फत स्थानीय तहको पहिचान राष्ट्रिय स्तरसम्म विस्तार गर्न सकिने उल्लेख गर्दै सहभागी विद्यार्थीहरूलाई खेलभावनाका साथ प्रतिस्पर्धा गर्न प्रेरित गर्नुभयो।

माघ ३ देखि ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिका अन्तर्गतका १२ वटा माध्यमिक विद्यालय सहभागी रहेका छन्। भलिबल, दौड, एथलेटिक्सलगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा हुने आयोजक विद्यालयका प्रधानाध्यापक शिवराम न्यौपाने ले जानकारी दिनुभयो। प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट खेलाडीहरूले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउनेछन्।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवनकुमार थापामगर को अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सहायक प्रधानाध्यापक रामशरण भट्टराई ले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक, खेलप्रेमी दर्शक तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।