कांग्रेसको नयाँ नेतृत्व र पुनर्जागरणको मार्गचित्र

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्री गगनकुमार थापा सर्वसम्मत रूपमा सभापति चयन हुनु केवल नेतृत्व परिवर्तन मात्र होइन, पार्टीको वैचारिक, संगठनात्मक र पुस्तान्तरणको ऐतिहासिक मोड हो। लामो समयदेखि पार्टीभित्र देखिँदै आएको द्वन्द्व, गुटबन्दी र नेतृत्वको वैधतासम्बन्धी बहसलाई यस विशेष महाधिवेशनले एक हदसम्म निकास दिएको छ। यद्यपि, यो प्रक्रिया सहज थिएन। पार्टीभित्र “संस्थापन पक्ष” र “परिवर्तन पक्ष” बीचको टकरावले कांग्रेस विभाजनको संघारमा देखिएको थियो।

संस्थापन पक्षले वैशाखमै नियमित महाधिवेशन गरेर नेतृत्व चयन गर्नुपर्ने अडान राखेको थियो भने गगन थापाको नेतृत्व टिमले विशेष महाधिवेशनमार्फत तत्काल वैध नेतृत्व चयन गरेर पार्टीलाई संकटबाट जोगाउनुपर्ने तर्क अघि सारेको थियो। सुरुमा गगन थापाको पक्षमा सीमित शीर्ष नेताहरू देखिए पनि क्रमश: देशभरका तल्लो तहका नेता-कार्यकर्ता, युवा पुस्ता र संगठनका सक्रिय सदस्यहरू उनको पक्षमा उभिन थाले। यही जनआधार र संगठनात्मक समर्थनका कारण विशेष महाधिवेशन सफल भयो र निर्वाचन आयोगले पनि गगन थापाको नेतृत्वमा रहेको प्यानललाई आधिकारिक नेपाली कांग्रेसको रूपमा मान्यता दियो।

यस निर्णयपछि राजनीतिक परिदृश्य तीव्र गतिमा परिवर्तन भयो। सुरुवातमा विरोधमा उत्रिएका वा तटस्थ बसेका देउवा पक्षका धेरै नेता क्रमश: गगन थापातिर आकर्षित हुन थालेका छन्। यो क्रमले कांग्रेसभित्रको ध्रुवीकरण विस्तारै कमजोर बन्दै गएको संकेत गर्छ। यद्यपि, शेरबहादुर देउवा जस्ता अनुभवी र प्रभावशाली नेताको भूमिकाबारे अझै स्पष्ट खाका बनेको छैन। देउवाले अब अवरोध होइन, संरक्षक र सेतुको भूमिका निर्वाह गर्नुपर्ने समय आएको छ।

नेपाल सरकार फागुन २१ को निर्वाचनमा लागेपछि नेपाली कांग्रेसको अगाडिको बाटो अझ स्पष्ट र चुनौतीपूर्ण दुवै बनेको छ। अब प्रश्न उठ्छ-कांग्रेस चुनावमा कसरी जाने ? के रणनीति लिने ? र पार्टीका युवा तथा तल्लो तहका नेताहरूले कसरी तयारी गर्ने ?

पहिलो कुरा, गगन थापाले कांग्रेसलाई नेतामुखी होइन, नीतिमुखी पार्टीको रूपमा पुनर्संरचना गर्नुपर्नेछ। विगतमा कांग्रेस सत्ता प्राप्तिको गणितमा अल्झिएको आरोप लाग्दै आएको छ। अब भने स्पष्ट वैचारिक एजेन्डा, जनजीविकासँग जोडिएका मुद्दा र सुशासनलाई केन्द्रमा राखेर चुनावी घोषणापत्र तयार गर्न आवश्यक छ। शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि आधुनिकीकरण, डिजिटल शासन, संघीयताको प्रभावकारी कार्यान्वयन र भ्रष्टाचार नियन्त्रण कांग्रेसको मुख्य चुनावी मुद्दा बन्नुपर्छ।

दोस्रो, युवा नेतृत्व र तल्लो तहको संगठन कांग्रेसको सबैभन्दा ठूलो शक्ति हो। विशेष महाधिवेशनमा देखिएको जनसमर्थनलाई चुनावी संगठनमा रूपान्तरण गर्न गगन थापाले युवालाई केवल नारामा होइन, निर्णय प्रक्रियामा सहभागी गराउनुपर्छ। वडा, गाउँरनगर र जिल्ला तहसम्म अभियान समिति गठन गरी घरदैलो, डिजिटल क्याम्पेन र मुद्दामा आधारित संवादलाई प्राथमिकता दिनुपर्छ। सामाजिक सञ्जालमा सक्रिय युवालाई योजनाबद्ध रूपमा परिचालन गर्न सके कांग्रेसले नयाँ मतदाता आकर्षित गर्न सक्छ।

तेस्रो, शेरबहादुर देउवा र संस्थापन भनिएका नेताहरूको भूमिका निर्णायक हुनेछ। देउवाले यदि पार्टीको हितलाई केन्द्रमा राख्दै अनुभव, अन्तर्राष्ट्रिय सम्बन्ध र संसदीय ज्ञान नयाँ नेतृत्वलाई हस्तान्तरण गर्न सके कांग्रेस अझ बलियो हुन्छ। गगन नेतृत्वले पनि देउवा पक्षलाई पूर्णत: पाखा लगाउने होइन, सम्मानजनक सहकार्यको वातावरण बनाउनुपर्छ। यो समन्वयबिना कांग्रेस एकताबद्ध भएर चुनाव लड्न सक्दैन।

यस सन्दर्भमा पछिल्लो समय देखिएको जनआन्दोलन र जनआक्रोश पनि महत्त्वपूर्ण छ। “जेनाजी आन्दोलन” लगायत विभिन्न सामाजिक-राजनीतिक आन्दोलनहरूले उठाएका मागहरू-सुशासन, भ्रष्टाचारमुक्त राज्य, रोजगारीको सुनिश्चितता, महँगी नियन्त्रण र राज्य संयन्त्रमा जवाफदेहिता-अब कांग्रेसले बेवास्ता गर्न सक्दैन। यी आन्दोलनहरू कुनै दल विशेषविरुद्ध मात्र होइनन् ती राज्यको कार्यशैलीप्रतिको असन्तोषको अभिव्यक्ति हुन्। कांग्रेसले यी मागलाई आफ्नो राजनीतिक एजेन्डामा समेट्न सके मात्र जनविश्वास जित्न सक्छ।

अब प्रश्न आउँछ-कांग्रेसको आगामी बाटो कस्तो ? कांग्रेसले आफूलाई केवल इतिहास बोकेको पार्टी होइन, भविष्य निर्माण गर्ने आधुनिक लोकतान्त्रिक शक्तिका रूपमा पुन:स्थापित गर्नुपर्छ। लोकतन्त्र, समाजवाद कांग्रेसको मूल दर्शन हो। तर, यी मूल्यलाई व्यवहारमा उतार्ने स्पष्ट कार्ययोजनाबिना नारा मात्र पर्याप्त हुँदैन। पार्टीभित्र आन्तरिक लोकतन्त्र, पारदर्शी टिकट वितरण, योग्यता र योगदानका आधारमा उम्मेदवार छनोट आजको अपरिहार्य आवश्यकता हो।

नेपाललाई कस्तो बनाउने भन्ने प्रश्नमा कांग्रेस स्पष्ट हुनुपर्छ-नेपाल कानुनको शासन भएको, अवसर बराबरी भएको, युवाले देशमै भविष्य देख्न सक्ने, संघीयता प्रभावकारी रूपमा कार्यान्वयन भएको र भ्रष्टाचार न्यून भएको देश बन्नुपर्छ। यसका लागि राज्यको भूमिका मात्र होइन, निजी क्षेत्र र समुदायबीचको सहकार्य आवश्यक छ।

अन्तत:, गगन थापाको सर्वसम्मत चयनले कांग्रेसलाई नयाँ आशा र नयाँ जिम्मेवारी दुवै दिएको छ। यो अवसरलाई संगठन सुदृढीकरण, वैचारिक स्पष्टता र जनमुखी राजनीतिमा रूपान्तरण गर्न सके कांग्रेस फेरि देशको नेतृत्वदायी शक्ति बन्न सक्छ। तर, यदि यो नेतृत्व पनि आन्तरिक द्वन्द्व, शक्ति सन्तुलन र पदको राजनीतिमा अल्झियो भने गगनलाई प्राप्त अवसर गुम्न सक्छ।

समय कम छ, चुनौती धेरै छन्। फागुन २१ को निर्वाचन केवल सत्ताको प्रतिस्पर्धा होइन, कांग्रेसको विश्वसनीयता र भविष्यको परीक्षा हो। गगन थापा, युवा नेतृत्व र तल्लो तहका कार्यकर्ताले मिलेर स्पष्ट योजना, एकताबद्ध संगठन र जनअपेक्षाअनुसारको राजनीति गर्न सके नेपाली कांग्रेसले फेरि जनताको भरोसा जित्नेछ। यही बाटो नै कांग्रेसको पुनर्जागरण र नेपालको लोकतान्त्रिक भविष्यको आधार बन्न सक्छ।