कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा घरेलु मैदानमा यूएईलाई पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई खेलको सिरिज बराबरी गरेको छ।
आज मंगलबार भएको खेलमा नेपालले यूएईलाई आठ विकेटले पराजित गर्दै सिरिज बराबरी गरेको हो। नेपाल पहिलो खेलमा सोमबार डीएल मेथडमा ६ विकेटले पराजित भएको थियो।
दुई खेलको सिरिजमा पहिलो खेलमा बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसकेको नेपाली टोलीले दोस्रो खेलमा भने उत्कृष्ट प्रदर्शन गरेको हो। दोस्रो खेलमा नेपालले बलिङ र ब्याटिङ दुवैतर्फ राम्रो प्रदर्शन गरेको छ।
यूएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५.५ ओभरमा दुई विकेटको क्षतिमा भेट्टायो। ओपनर कुशल भुर्तेल ८४ र कप्तान दीपेन्द्रसिंह ऐरी २३ रनमा अविजित रहे।
कुशलले ५७ बलमा १२ चौका र २ छक्का प्रहार गरे। उनले ३१ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए।
दीपेन्द्र १७ बलमा ३ चौका सहयोगमा २३ रनमा अविजित रहे। त्यस्तै, १७ बलमा १ चौका र २ छक्का बनाएका कुशल मल्ल १९ रन बनाउँदा मुहम्मद अफरानको बलमा मुहम्मद वसिमको हातबाट क्याच आउट भए। सन्तोष यादव १ रनमा पेभेलियन फर्के।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रनको योगफल तयार पारेको थियो।
अर्षदिप नाथ ५३ र मुहम्मद जुहैब ६ रनमा अविजित रहे। नाथले ४२ बलमा ३ चौका र ६ छक्का सहयोगमा ४२ रनमा अविजित रहे।
३६ बलमा २ चौका र १ छक्का सहयोगमा ३२ रन बनाएका मुहम्मद अफरान १९औँ ओभरको दोस्रो बलमा सन्दीप लामिछानेको बलमा कप्तान दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट हुन पुगे। सोही ओभरको तेस्रो बलमा खुजैमा तनविर शून्यमा नै ऐरीको हातबाट क्याच आउट भए।
यूएईविरुद्ध नेपालले सुरुवातदेखि नै दबाब बनाएको थियो। यूएईले पावर प्लेमा नै ३ विकेट गुमाएर ४७ रन बनाएको थियो। सातौँ विकेटका लागि अफरान र अर्षदीप नाथले ६४ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए।
अदिव उस्मानले ३० रन बनाए। उनले २२ बलमा २ चौका र २ छक्का सहयोगमा ३० रन बनाउँदा सन्दीप लामिछानेको बलमा एलबीडब्लुको धरापमा परे।
यूएईका ओपनर तथा कप्तान मुहम्मद वसिम इनिङसको पहिलो बलमा नै गोल्डेन डक आउट भए। दोस्रो ओभरको चौथो बलमा अलिसान सराफु १ रन बनाउँदा नन्दन यादवको बलमा विकेट किपर लोकेश बमको हातबाट आउट हुन पुगे।
हरपित सिंह १ रनमा हेमन्त धामीको बलमा एलबीडब्लु धरापमा परे।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। किफायती बलिङ गरेका सन्दीपले आफ्नो स्पेलमा १ मेडन राख्दै मात्र ६ रन दिए। हेमन्त धामीले २ विकेट लिए। नन्दन यादव र साहब आलमले समान एक विकेट बनाए।
