स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को २६औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा इप्पानले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन्।
उपराष्ट्रपति यादवले विगत दुई दशकभन्दा बढी समयदेखि इप्पानले देशको ऊर्जा क्षेत्रमा योगदान पुर्याउँदै आत्मनिर्भरता हासिल गर्न मद्दत गरेको उल्लेख गर्दै यसलाई राष्ट्रिय विकास र आर्थिक समृद्धिको आधारस्तम्भको रूपमा मूल्याङ्कन गरे।
उनले नेपाल जलविद्युत तथा नवीकरणीय ऊर्जामा धनी राष्ट्र भएको र यस अमूल्य स्रोतको सदुपयोग गरी ऊर्जा आयातमा परनिर्भरता घटाउन आवश्यक रहेको बताए। ऊर्जा आत्मनिर्भरता आर्थिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएको उनले बताए। सस्तो र पर्याप्त ऊर्जा उपलब्ध भएमा उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा तीव्र विकास हुने, रोजगारी सिर्जना हुने र आर्थिक समृद्धि सुनिश्चित हुने उनको भनाइ थियो।
कार्यक्रममा उपराष्ट्रपति यादवले नवीकरणीय ऊर्जाको विस्तारले कार्बन उत्सर्जन घटाउन, वातावरणीय सन्तुलन कायम गर्न र जलवायु परिवर्तनका चुनौती सामना गर्न मद्दत गर्ने बताए। साथै, ग्रामीण तथा दुर्गम क्षेत्रमा ऊर्जा विस्तार सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्ने माध्यम समेत भएको उल्लेख गरे।
उपराष्ट्रपतिले नेपालले नवीकरणीय ऊर्जामा लगानी बढाएर छिमेकी मुलुकहरूमा विद्युत निर्यात गर्दै क्षेत्रीय ऊर्जा व्यापारमा अग्रणी भूमिका खेल्न सक्ने सम्भावना रहेको बताए। उनले ऊर्जा उत्पादनमा गुणस्तर, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै आधुनिक प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई आत्मसात गर्नुपर्ने बताए।
