होटल फरेस्ट इनले आइतबारदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आवेदन खुलाएको छ। कम्पनीले ४ करोड रुपैयाँ बराबरको अंकित मूल्य १०० रुपैयाँमा ४ लाख कित्ता सेयर छुट्याएको छ।
लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम २ लाख कित्ता सेयरका लागि माघ ८ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत बराबर ४० करोड रुपैयाँको आइपीओ निष्कासनको अनुमति पाएको छ।
होटलले पहिलो चरण वैदेशिक रोजगारीमा गएका नेपालीलाई बिक्री गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने योजना बनाएको छ।
आइपीओ निष्कासनको लागि गराइएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आइआरएन डबल बी माइनस (IRN BB-) इश्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
गत असारसम्म होटलले २३ करोड ९४ लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो।
