पोखरा । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’का संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार पोखराबाट पक्राउ परेका छन् । निर्वाचन आयोगको मानमर्दन गरेको र गम्भीर अफवाह फैलाएको आरोपमा उनलाई कास्की प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो ।नेपाली कांग्रेसको आन्तरिक विवाद र विशेष महाधिवेशनको सन्दर्भमा प्रसाईंले एक भिडियो सार्वजनिक गर्दै गम्भीर आरोप लगाएका थिए । उनले निर्वाचन आयोगले ५२ करोड रुपैयाँ घुस लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको दाबी गरेका थिए ।
संवैधानिक निकायको निष्पक्षतामाथि नै प्रश्न उठाउने गरी भ्रामक अभिव्यक्ति दिएको ठहर गर्दै आयोगले आइतबार मात्रै प्रसाईंमाथि अनुसन्धान र कारबाहीका लागि प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौँलाई औपचारिक पत्राचार गरेको थियो।
प्रसाईंमाथि निर्वाचन आयोग विरुद्ध अफवाह फैलाएको मात्र नभई, सरकारी वेबसाइट ह्याक गरी डाटा चोरी गर्ने योजना बनाएको अडियो सार्वजनिक भएको विषयमा पनि अनुसन्धान हुने बताइएको छ । कास्की प्रहरीका अनुसार उनलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि आजै काठमाडौँ पठाउने तयारी भइरहेको छ ।
