मिलन विश्वकर्मा र सीमा तामाङलाई पहिलो ‘इप्पान जर्नो अवार्ड’

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले यसै वर्षदेखि सुरु गरेको ‘इप्पान जर्नो अवार्ड–२०२६’ बाट दुई पत्रकार सम्मानित भएका छन्। ऊर्जा क्षेत्रमा निरन्तर र प्रभावकारी रिपोर्टिङ गरेबापत नयाँ पत्रिकाका मिलन विश्वकर्मा र कान्तिपुर दैनिककी सीमा तामाङलाई सो अवार्ड प्रदान गरिएको हो।

पुरस्कार र सम्मान आइतबार राजधानीमा आयोजित २६औँ ‘इप्पान डे’ को विशेष समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री अनिल कुमार सिन्हाले संयुक्त रूपमा अवार्ड हस्तान्तरण गरेका थिए। खुला प्रतिस्पर्धामार्फत छनोट भएका दुवै विजेतालाई जनही ५१ हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको छ।

अवार्डको उद्देश्य ऊर्जा क्षेत्रको प्रवर्द्धनमा सञ्चार माध्यमको भूमिकालाई कदर गर्दै इप्पानले यस वर्षदेखि एक पुरुष र एक महिला पत्रकारलाई पुरस्कृत गर्ने परम्परा सुरु गरेको हो। सम्मानित दुवै पत्रकार लामो समयदेखि ऊर्जा, जलस्रोत र विकास निर्माणका क्षेत्रमा खोजमूलक पत्रकारिता गर्दै आएका छन्।