शिखर पावरको आईपीओ स्थानीय र वैदेशिक नेपालीका लागि खुला

शिखर पावर डेभलपमेन्ट लिमिटेडले माघ ६ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन तथा बिक्री सुरु गरेको हो।

कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत बराबर अर्थात ३२ करोड रुपैयाँ मूल्यको ३२ लाख कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। यसमध्ये जारी पूँजीको १० प्रतिशत, अर्थात ९ करोड ८० लाख रुपैयाँ बराबरको ९ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ। उक्त शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गरिएको हो।

आयोजना प्रभावित स्थानीय बासिन्दाअन्तर्गत बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नं. १ देखि १० सम्मका सम्पूर्ण वडाहरू तथा आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित ढोरपाटन नगरपालिका वडा नं. २ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

यसैगरी, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशत, अर्थात २ करोड २२ लाख रुपैयाँ बराबरको २ लाख २२ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको छ। नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूले यस श्रेणीअन्तर्गत आवेदन दिन सक्नेछन्।

आईपीओमा आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि यो आईपीओ छिटोमा माघ २० गते बन्द हुनेछ भने पर्याप्त आवेदन नपरेमा ढिलोमा फागुन ८ गते सम्म खुला रहनेछ।