पर्साको चोर्नीलाई मुख्य कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेको शिव शक्ति केमोप्लास्ट प्राइभेट लिमिटेडले पछिल्ला वर्षहरूमा उल्लेख्य व्यापारिक प्रगति गरेको छ । सन् २०२५ मा कम्पनीको कुल कारोबार १ अर्ब १४ करोड ९० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्ला वर्षहरूको तुलनामा उल्लेखनीय वृद्धि हो ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सार्वजनिक गरेको रेटिङ रिपोर्टअनुसार कम्पनीको आम्दानी र नाफा दुवैमा निरन्तर सुधार देखिएको छ । आर्थिक वर्ष २०२३ देखि २०२५ सम्म कम्पनीको कुल सञ्चालन आम्दानी वार्षिक औसत ११ प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ । सन् २०२३ मा ९२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२४ मा १ अर्ब ७० लाख रुपैयाँ र सन् २०२५ मा १ अर्ब १४ करोड ९० लाख रुपैयाँको कारोबार गर्न सफल भएको हो ।
घरेलु बजारसँगै निर्यात माग बढेकाले कम्पनीको व्यापार विस्तार भएको जनाइएको छ । सन् २०२५ मा कम्पनीको कुल बिक्रीमध्ये करिब ५९ प्रतिशत हिस्सा निर्यातबाट आएको छ, जसको मूल्य ६७ करोड ५० लाख रुपैयाँ बराबर छ । कम्पनीको कारखाना भारत–नेपाल सीमा नजिकै अवस्थित भएकाले कच्चा पदार्थ आयातमा ढुवानी खर्च कम हुनुका साथै भारतीय बजारमा निर्यात सहज भएको छ ।
बैंकिङ कर्जा सुविधाका लागि गरिएको क्रेडिट रेटिङमा कम्पनीका लागि ७३ करोड २१ लाख ६० हजार रुपैयाँको कर्जा सीमा निर्धारण गरिएको छ । सुधारिएको वित्तीय अवस्थालाई मध्यनजर गर्दै इन्फोमेरिक्स नेपालले कम्पनीको अघिल्लो रेटिङसमेत अपग्रेड गरेको छ । कम्पनीले लिएको ६ करोड २१ लाख ६० हजार रुपैयाँ बराबरको दीर्घकालीन ऋणका लागि ‘डबल बी प्लस’ र ६७ करोड रुपैयाँ बराबरको अल्पकालीन ऋणका लागि ‘ए फोर प्लस’ रेटिङ प्रदान गरिएको छ ।
दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको शिव शक्ति केमोप्लास्ट पोलिप्रोपिलिन प्याकेजिङ सामग्री उत्पादन क्षेत्रमा स्थापित कम्पनी हो । यो सन् १९८७ देखि सक्रिय रहेको शिव शक्ति ग्रुपअन्तर्गत पर्दछ । कम्पनीको नेतृत्व निर्देशक राहुल कुमार अग्रवालले गरिरहेका छन्, जो सन् १९९६ देखि विभिन्न उद्योगमा आबद्ध रहँदै आएका छन् । कम्पनीले पिपी वोभन फ्याब्रिक्स, बोरा तथा मल्टि–लेयर सिट उत्पादन गर्दै आएको छ ।
प्लाष्टिक उत्पादन उद्योग पुँजी र श्रमप्रधान भएकाले चुनौतीहरू पनि रहेको रिपोर्टमा औँल्याइएको छ । सन् २०२५ मा कम्पनीको सञ्चालन मुनाफा ५.८४ प्रतिशत रहेको छ । सन् २०२४ मा २ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले सन् २०२५ मा २ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
ऋण तिर्न सक्ने क्षमताका सूचकहरू सकारात्मक देखिएका छन् । सन् २०२५ मा कम्पनीको ब्याज कभरेज अनुपात ६.१९ गुणा र ऋण सेवा कभरेज अनुपात ५.४० गुणा रहेको छ । यद्यपि, कच्चा पदार्थका लागि करिब ९६ प्रतिशत आयातमा निर्भर रहनु र अमेरिकी डलरको विनिमय दरमा हुने उतारचढाव कम्पनीका प्रमुख जोखिमका रूपमा देखिएका छन् । आयात हुने कच्चा पदार्थमध्ये ८९ प्रतिशत भारतबाट आउने गरेको उल्लेख छ ।
