निफ्राको वित्तीय गतिविधि स्थिर, नाफामा दबाब

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.१५ प्रतिशतले कमी आएको हो ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा निफ्राले ४० करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६४ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.०९ प्रतिशतले घटेर ७४ करोड ७ लाख २० हजार रुपैयाँमा सीमित भएको छ । यद्यपि, खुद फि तथा कमिशन आम्दानी भने ४.५१ प्रतिशतले बढेर १ करोड ५१ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।

यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २८.६२ प्रतिशत घटेर ७५ करोड ५९ लाख ११ हजार रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा ३६.०४ प्रतिशतले घटेर ५८ करोड ६५ लाख ९० हजार रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा वितरणयोग्य मुनाफा पनि ३३.३७ प्रतिशतले घटेर ३४ करोड ७८ लाख रुपैयाँमा झरेको छ ।

नाफामा आएको गिरावटसँगै बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ १५ पैसाले घटेर ३ रुपैयाँ ८० पैसामा सीमित भएको छ । पुस मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात ६८.४६ गुणा रहेको छ ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको निफ्राको जगेडा कोषमा ३ अर्ब १८ करोड ५७ लाख रुपैयाँ सञ्चित छ । गत पुस मसान्तसम्म बैंकले ८ अर्ब ११ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ४१ करोड १६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।