हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ। साधारणसभाको अध्यक्षता महेन्द्र कृष्ण श्रेष्ठले गरेका थिए भने अनमोल व्याङ्क्वेट, शंखमुल, काठमाडौंमा कार्यक्रम सम्पन्न भएको थियो।
साधारणसभा र लाभांश वितरणको प्रयोजनका लागि शेयरधनी दर्ता २०८२ पुष २१ गतेका लागि बन्द गरिएको थियो। २०८२ पुष २० गतेसम्म कायम शेयरधनी साधारणसभामा उपस्थित भएका थिए।
सभाबाट आ.व. २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, र ईक्विटीमा भएको परिवर्तन पारित भएको छ। यसै आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत दरमा करसहित २० करोड १२ हजार ५९२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय पारित गरिएको छ।
त्यस्तै, आ.व. २०८२/०८३ का लागि कम्पनीको बाह्रय लेखापरीक्षकको नियुक्ति र पारिश्रमिकसमेत पारित गरिएको छ।
सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले प्रविधि र दक्ष जनशक्तिमा निरन्तर लगानीले कम्पनीलाई दीर्घकालीन रूपमा सुदृढ र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे। उनले स्रोतहरूको प्रभावकारी व्यवस्थापन र सबै सरोकारवालासँग सहकार्य गर्दै कम्पनीलाई थप सक्षम बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न चुनौतीका बाबजुद दीर्घकालीन स्थायित्व र सञ्चालन सुधारमा केन्द्रित रणनीतिका कारण उल्लेखनीय प्रगति हासिल भएको बताए। उनले वित्तीय सुदृढता, जोखिम व्यवस्थापन र ग्राहकप्रतिको प्रतिबद्धताले भविष्यमा दिगो मूल्य सिर्जना गर्ने विश्वास व्यक्त गरे।
