सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले माघ १८ गतेदेखि आफ्ना शेयरहरूको आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्न लागेको छ। कम्पनीले पहिले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरिसकेको छ।
कम्पनीको जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात् १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त छ। यसमा ६ लाख ८९ हजार ६७५ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र ६८ हजार ९६७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि पहिले नै बाँडफाँट भइसकेको छ।
अब कम्पनीले दोस्रो चरणमा १३ हजार ७९३ कित्ता कर्मचारी र ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित राखेका शेयरसमेत निष्काशन गर्दै बाँकी रहेको ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँबराबरको ५ लाख ७२ हजार ४३१ कित्ता शेयर सर्वसाधारणका लागि उपलब्ध गराउने योजना बनाएको छ। प्रत्येक शेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ।
आवेदन दिन न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आईपीओ छिटोमा माघ २१ गते बन्द हुनेछ भने ढिलोमा फागुन ३ गतेसम्म खुला रहनेछ।
