काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २६ औं साधारण सभा तथा निर्वाचन अनिश्चित भएको छ । निर्वाचन आयोगले शुक्रबार एक सुचना जारी गर्दै महासंघलाई तत्कालका लागि साधारण सभा तथा निर्वाचन स्थगित गर्न अनुरोध गरेपछि सभा अनिश्चित बनेको हो ।
महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामाले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका कारण यतिबेला देशभर निर्वाचन आचारसहिंता लागु भएकाले आयोगले हालका लागि साधारण सभा स्थगित गर्न भनेको बताए । अब आयोगले अर्को सुचना जारी नगरेसम्मका लागि साधारण सभा स्थगित भएको उनले जानकारी दिए ।
आयोगले जारी गरेको सुचनामा माघ ४ गते राति १२ बजेदेखि अर्को सुचना प्रकाशन नभए सम्मका लागि निर्वाचन आचारसंहिता लागु भइसकेकाले सोहि बमोजिम साधारण सभा स्थगित गर्न अनुरोध गरेको उल्लेख छ ।
सुचनामा भनिएको छ,‘महासंघको २६ औं साधारण सभा एवम् निवार्चन सम्बन्धमा बिषयक पत्र प्राप्त भयो । यसमा आयोगको मिति २०८२÷१०÷०४ को निर्णयानुसार सोहि दिन राति १२ बजेदेखि आयोगबाट अर्को सुचना प्रकाशन नभए सम्मको लागि निर्वाचन आचार सहिंता, २०८२ लागु भइसकेको हुँदा ऐ आचार सहिंचा लागु रहने अवधिभर साधारण सभा गर्न नमिल्ने हुँदा सोहि बमोजिम साधारण सभा स्थगित गर्नु हुन निर्णयानुसार अनुरोध छ ।’
महासंघले गत पुस ८ गतेनै सुचना निकालेर माघ १५ देखि १७ गते सम्मका लागि काठमाडौंमा आफ्नो २६ औं साधारण सभा तथा निर्वाचन गर्ने कार्यतालिका सावर्जनिक गरेको थियो ।
