चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उल्लेखनीय वित्तीय प्रगति गरेको छ। बैंकले यस अवधिमा खुद नाफा ५३.९५ प्रतिशतले वृद्धि गर्दै ३० करोड २५ लाख रुपैयाँ पुर्याएको छ। गत आर्थिक वर्षको यही अवधिमा बैंकले १९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्म सञ्चालन मुनाफा ६९.३३ प्रतिशतले बढेर ४५ करोड १३ लाख १३ हजार रुपैयाँ पुगेको छ।
यसैगरी, चालु वर्षको पहिलो ६ महिनामा बैंकको खुद ब्याज आम्दानी १८.४९ प्रतिशतले वृद्धि भई १ अर्ब ८ करोड ८० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ९१ करोड ८२ लाख रुपैयाँ रहेको थियो।
पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ९ करोड ४६ लाख रुपैयाँ पुगेको छ। यस आधारमा बैंकले दोस्रो त्रैमाससम्म ५.०७ प्रतिशत लाभांश क्षमता बनाएको देखिन्छ।
समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १६.२१ रुपैयाँ कायम भएको छ। प्रतिशेयर नेटवर्थ १५३.२४ रुपैयाँ रहेको छ भने बैंकको मूल्य–आम्दानी अनुपात (पीई रेसियो) २४.७८ गुणा रहेको छ।
वित्तीय संरचनातर्फ हेर्दा बैंकको चुक्तापुँजी ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ पुगेको छ। रिटेन्ड अर्निङमा ९ करोड ४६ लाख रुपैयाँ र विभिन्न रिजर्भमा १ अर्ब ८९ करोड ३३ लाख रुपैयाँ रहेको छ।
पुस मसान्तसम्म बैंकले ५४ अर्ब ३९ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब ४० करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। नाफा, आम्दानी र कर्जा विस्तारमा देखिएको सुधारले बैंकको समग्र वित्तीय अवस्था थप सुदृढ बन्दै गएको संकेत गरेको छ।
