वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४ खर्ब ३८ अर्ब २१ करोड मूल्यका वस्तु तथा सामान आयात भएको छ। गत आवको सोही अवधिसँग तुलना गर्दा यसमा १५.३० प्रतिशतको उल्लेखनीय वृद्धि देखिएको छ। गत आवको पहिलो ६ महिनामा वीरगञ्ज नाकाबाट ३ खर्ब ८० अर्ब ६ करोड मूल्य बराबरका सामान भित्रिएका थिए।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको आयात वृद्धिले देशको आवश्यक वस्तु आपूर्ति र व्यापार गतिविधि दुवैमा सकारात्मक संकेत दिएको छ।
समिक्षा अवधिमा पेट्रोलियम पदार्थको आयात ९० अर्ब ६ करोड रुपैयाँ भएको छ। फलाम तथा फलामबाट बनेका सामानको आयात ३९ अर्ब ३ करोड रुपैयाँ भएको छ भने मेसिनरी र पार्टपुर्जा आयात ३० अर्ब १ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, भटमासको कच्चा तेल आयात २७ अर्ब ७२ करोड, इलेक्ट्रिक मेसिनरी तथा उपकरण र पार्टपुर्जा आयात २४ अर्ब ६१ करोड र कपडा आयात १९ अर्ब ४ करोड रुपैयाँ मूल्यमा भएको छ।
भन्सार विभागले वीरगञ्ज नाकाबाट आयात बढ्नु देशको औद्योगिक, निर्माण र व्यापार गतिविधिमा सकारात्मक प्रभाव पर्ने बताएको छ। यसले नेपालको बजारमा वस्तु आपूर्ति सुनिश्चित गर्ने मात्र नभई व्यापारिक कारोबारमा गतिशीलता थप्ने अपेक्षा गरिएको छ।
