पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन व्यवसायमा संलग्न छन् भने पछिल्ला वर्षमा यसतर्फ सर्वसाधारणको आकर्षण बढिरहेको छ। महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाका अनुसार विशेषत: वडा १६, १८, २०, २३, २६, २८, ३०, ३३ मा मौरीपालनमा उत्साह देखिएको छ।
हाल पोखरा महानगर क्षेत्रबाट वार्षिक करिब ९० टन मह उत्पादन भइरहेको छ र उत्पादन बढ्दो क्रममा रहेको कडरियाले बताए। यहाँ विशेषत: ‘सेरेना’ जातका मौरीपालन गर्ने चलन बढेको छ। “बजारमा महको माग बढ्दो छ, उत्पादन गर्न सकेमा बजारको समस्या छैन,” उनले भने, “यस क्षेत्रमा मह उत्पादन आयआर्जनको महत्वपूर्ण विकल्प बन्ने सम्भावना छ।”
कडरियाका अनुसार मौरीपालनले अन्य कृषिजन्य उत्पादनमा पनि सकारात्मक प्रभाव पार्ने हुँदा व्यवसायिककरणका लागि तालिमहरू नियमित सञ्चालन भइरहेको छ। यसै क्रममा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको आयोजना तथा पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रको समन्वयमा ६५ दिने मौरीपालक तह–१ तालिम आइतबारदेखि सुरु गरिएको छ।
तालिम पोखरा महानगरपालिका–२६, लेखनाथ ढलेपिपल कृषि सेवा केन्द्रमा सुरु गरिएको हो र महानगर क्षेत्रका २० अगुवा किसान यस तालिममा सहभागी छन्। तालिम मार्फत किसानहरूले मौरीपालन व्यवसायिक रूपमा सञ्चालन गर्न आवश्यक ज्ञान र प्रविधि प्राप्त गर्ने अपेक्षा गरिएको छ।
