नेपाल सरकारले १० अर्ब रुपैयाँको ‘विकास ऋणपत्र २०९१’ निष्कासन गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको सूचनाअनुसार, उक्त ऋणपत्र ९ वर्षको अवधिका लागि बिक्रीमा आउँदैछ।
ऋणपत्रको बोलकबोल आगामी माघ १४ गते बुधवार खुला हुनेछ भने साँवा भुक्तानी माघ १५ गते हुने सूचनामा उल्लेख छ। अर्धवार्षिक रूपमा प्राप्त हुने ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण गरिनेछ।
ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, व्यक्ति, फर्म, संस्था वा कम्पनीहरू आवेदन दिन सक्नेछन्। कुल निष्कासित रकममध्ये ८५ प्रतिशत (८५० करोड) प्रतिस्पर्धी बोलवालाका लागि छुट्याइएको छ भने बाँकी १५ प्रतिशत (१५० करोड) अप्रतिस्पर्धी बोलवालाका लागि छुट्टाइएको छ।
यो ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिने व्यवस्था सहित जारी गरिएको छ। दोस्रो बजारमा यसको कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) र डिओएमएस प्रणालीमार्फत हुने छ।
इच्छुक खरिदकर्ताले माघ १४ गते बिहान १० बजेदेखि अपराह्न २ बजेसम्म सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको अनलाइन प्रणालीमार्फत आवेदन पेश गर्न सक्नेछन्।
