तेह्रथुममा जन्म, भक्तपुरमा भोट, झापामा उम्मेदवारी — ओली कुन जिल्लाका नेता ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन्। तर उनको उम्मेदवारीभन्दा धेरै चर्चामा उनको व्यक्तिगत विवरणमा गम्भीर गोलमाल परेको छ, जसले झापा–५ मा उनको राजनीतिक वैधतामाथि नै प्रश्न उठाएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार केपी शर्मा ओलीको जन्मस्थान काठमाडौं उल्लेख छ। तर यही ओलीले २०७० सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएको भनिएको नेपाली नागरिकताको प्रमाणपत्रमा भने आफ्नो जन्मस्थान तेह्रथुमको पोखरी उल्लेख गरेका छन्। एउटै व्यक्तिको जन्मस्थान दुई फरक स्थान कसरी हुन सक्छ ? यो प्रश्नको जवाफ ओलीसँग आजसम्म आएको छैन।

यदि ओली काठमाडौंमै जन्मिएका हुन् भने काठमाडौंको कुन नगरपालिका, कुन वडा ? यसको कुनै विवरण छैन। किनभने आलोचकहरूका अनुसार ओली काठमाडौंमा जन्मिएका नै होइनन्।

स्थायी ठेगानाको विषय झन् विवादास्पद छ। निर्वाचन आयोगमा बुझाइएको विवरणमा उनको स्थायी ठेगाना भक्तपुरको सूर्यविनायक नगरपालिका–बालकोट देखाइएको छ। तर उनको नागरिकताको प्रमाणपत्रमा भने स्थायी ठेगाना झापाको शरणमती उल्लेख छ। कानुनी प्रक्रिया पूरा नगरी स्थायी ठेगाना परिवर्तन गरिएको हो कि होइन ? यो प्रश्न पनि अनुत्तरित छ।

झापा–५ बाट उम्मेदवार बनेका ओली त्यहीँ मतदान गर्नसमेत पाउँदैनन्। उनको मतदान केन्द्र भक्तपुरस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय तोकिएको छ। न जन्मस्थान, न स्थायी ठेगाना, न मतदान अधिकार—यीमध्ये कुनै पनि आधार झापा–५ सँग नजोडिँदा ओलीलाई झापा–५ का मतदाताले “टुरिस्ट उम्मेदवार” भन्न थालेका छन्।

शैक्षिक योग्यताको विषयले ओलीको छविलाई थप धक्का दिएको छ। संसद सचिवालयको अघिल्लो अभिलेखमा उनको शैक्षिक योग्यता “साधारण लेखपढ, मानार्थ पीएचडी” उल्लेख थियो। तर उक्त मानार्थ पीएचडी नक्कली भएको तथ्य सार्वजनिक भएपछि यस पटक निर्वाचन आयोगमा उनको शैक्षिक योग्यताको प्रमाणपत्र नै सार्वजनिक गरिएको छैन। प्रश्न उठ्छ—मानार्थ पीएचडी शैक्षिक योग्यता हो कि होइन ? यदि होइन भने विगतमा किन बुझाइयो ?

नाम लेख्ने तरिकामा समेत फरक देखिएको छ। निर्वाचन आयोगको विवरणमा ओलीको नाम कोष्टबिनाको छ भने नागरिकता र संसद सचिवालयको विवरणमा भने कोष्टकभित्र राखिएको छ। यही सन्दर्भमा ओली स्वयंले सार्वजनिक कार्यक्रममा “पुरानो नागरिकता हराएर नयाँ बनाएको” स्वीकार गरिसकेका छन्। यही स्वीकारोक्तिले अहिले देखिएको विवरणको गोलमाललाई झन् गम्भीर बनाएको छ।

स्थायी ठेगाना परिवर्तन हुन सक्छ, तर जन्मस्थान परिवर्तन हुन सक्दैन। कि त तेह्रथुममा जन्मिएको केपी शर्मा ओली र काठमाडौंमा जन्मिएको भनिने केपी शर्मा ओली फरक–फरक व्यक्ति हुन् भन्न सक्नुपर्‍यो, होइन भने एउटै व्यक्तिको व्यक्तिगत विवरण यसरी फरक–फरक देखिनु कानुनी र नैतिक दुवै हिसाबले गम्भीर प्रश्न हो।

अब प्रश्न सीधा छ—

  • तपाईं जन्मनुभएको तेह्रथुम हो कि काठमाडौं ?

  • भक्तपुरको स्थायी बासिन्दा भएर काठमाडौं जिल्ला प्रशासनबाट नागरिकता किन ?

  • नक्कली मानार्थ प्रमाणपत्रका आधारमा शैक्षिक योग्यता किन बुझाइयो ?

  • झापा–५ सँग कुनै प्रत्यक्ष सम्बन्ध नभएको व्यक्ति त्यहाँको प्रतिनिधि बन्ने नैतिक अधिकार राख्छ ?

यी प्रश्नहरूको स्पष्ट जवाफ नआएसम्म झापा–५ का एमाले उम्मेदवार केपी शर्मा ओली राजनीतिक भन्दा बढी विवादको केन्द्रमा रहने निश्चित देखिन्छ। तथापि, सबै विवादका बीच निर्वाचन प्रतिस्पर्धाका लागि उनलाई अग्रिम शुभकामना।