व्यवहारिक एआई सीप विकासका लागि ‘AIForAll’ अभियान सुरु

काठमाडौं । नेपालमा व्यवहारिक कृत्रिम बुद्धिमत्ता सीप विकास गर्ने उद्देश्यले साइबर सुरक्षा कम्पनी वान कभर प्रालि र शैक्षिक प्रविधि प्लेटफर्म दूरशिक्षा एजुकेशन नेटवर्कले संयुक्त रूपमा ‘एआई फर अल’ – जान्ने एआईदेखि प्रयोग गर्ने एआईसम्म अभियान सुरु गरेका छन्। यस पहलमार्फत विद्यार्थी, पेशेवर तथा संस्थालाई व्यवहारिक एआई साक्षरता प्रदान गर्दै डिजिटल रूपान्तरणमा सशक्त बनाउने लक्ष्य लिइएको छ।

कार्यक्रमले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्नेमा जोड दिँदै प्रयोगात्मक सिकाइ, वास्तविक प्रयोगका उदाहरण र जिम्मेवार एआई प्रयोगमा केन्द्रित रहेको आयोजकले बताएका छन्। यसअन्तर्गत मुख्य कार्यक्रमका रूपमा ‘जम्पस्टार्ट एआई’ नामक १५ घण्टे विशेष पाठ्यक्रम सञ्चालन गरिनेछ, जसमा कृत्रिम बुद्धिमत्ता र प्रम्प्टको आधारभूत ज्ञान तथा एआई प्रयोगका लागि आवश्यक सञ्चार सीपसम्बन्धी मोड्युल समावेश छन्।

वान कभरका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीले यो पहलले नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्षमता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो भने दूरशिक्षा एजुकेशन नेटवर्कका प्रमुख कार्यकारी अधिकृत कृष्ण पाण्डेले सुरक्षित र व्यवहारिक वातावरणमा एआई प्रयोगको प्रत्यक्ष अनुभव दिलाउने बताउनुभयो।

कार्यक्रममा ५० प्रतिशत प्रशिक्षकद्वारा नेतृत्व गरिएको सत्र, ३० प्रतिशत व्यवहारिक अभ्यास र २० प्रतिशत स्व-अध्ययन रहनेछ। सफलतापूर्वक पाठ्यक्रम पूरा गर्ने सहभागीले अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र प्राप्त गर्नेछन्। इच्छुकले आधिकारिक वेबसाइटमार्फत दर्ता गर्न सक्नेछन्।  http://onecovernepal.com/aiforall