कुमारी बैंकको नाफामा उछाल अघिल्लो वर्षको तुलनामा ८८७.५० प्रतिशतले वृद्धि

काठमाडौं । कुमारी बैंक लिमिटेड ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा र प्रतिशेयर आम्दानीमा ऐतिहासिक उछाल आएको जनाएको छ। पुस मसान्तसम्म बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा ८८७.५० प्रतिशतले वृद्धि भई २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २७ करोड ५३ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्ष उच्च इम्पेरमेन्ट चार्ज का कारण नाफा दबाबमा परे पनि चालु वर्ष उक्त चार्ज उल्लेख्य रूपमा घट्दा बैंकको नाफामा ठूलो छलाङ देखिएको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी उल्लेख्य रूपमा बढेको छ। गत आवको पुस मसान्तसम्म ५ अर्ब ३१ करोड ३९ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा २७.६५ प्रतिशतले वृद्धि भई ६ अर्ब ७८ करोड ३५ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, बैंकको खुद फी तथा कमिशन आम्दानी पनि सुदृढ देखिएको छ। यो आम्दानी १ अर्ब २७ करोड ७ लाख रुपैयाँबाट बढेर १ अर्ब ६० करोड ९२ लाख रुपैयाँ पुगेको छ। यी सूचकहरूको सकारात्मक प्रभावस्वरूप बैंकको कुल सञ्चालन आम्दानी ७ अर्ब ८ करोड ३६ लाख रुपैयाँबाट बढेर ९ अर्ब २१ करोड २९ लाख रुपैयाँ कायम भएको छ।

बैंकका अनुसार आम्दानी संरचनामा आएको सुधार र खर्च व्यवस्थापनले चालु आर्थिक वर्षमा वित्तीय प्रदर्शन थप मजबुत बनाएको छ।