काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। पुस मसान्तसम्म बैंकको खुद नाफा २२.१९ प्रतिशतले वृद्धि भई ४० करोड ४२ लाख ८० हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३३ करोड ८ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा खुद ब्याज आम्दानीमा सामान्य गिरावट देखिए पनि सञ्चालन नाफा उल्लेख्य रूपमा बढ्नु र इम्पेरमेन्ट चार्ज घट्नु ले बैंकको नाफा वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ। बैंकको खुद ब्याज आम्दानी १ अर्ब २९ करोड ९८ लाख रुपैयाँबाट घटेर १ अर्ब २८ करोड ४० लाख ७८ हजार रुपैयाँ मा सीमित भएको छ।
यद्यपि, सञ्चालन नाफा ४८ करोड ३० लाख २१ हजार रुपैयाँबाट बढेर ६० करोड ५८ लाख ४० हजार रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४९ करोड ६७ लाख २ हजार रुपैयाँबाट घटेर ३१ करोड ४६ लाख २६ हजार रुपैयाँ मा झरेको छ।
बैंकको वितरणयोग्य नाफा १६ करोड २२ हजार रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ६.३७ प्रतिशत रहेको छ। प्रतिसेयर आम्दानी (EPS) १६.१० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४६.६० रुपैयाँ कायम भएको छ।
कर्जा गुणस्तरतर्फ, बैंकको खराब कर्जा अनुपात ४.४० प्रतिशतबाट ४.७५ प्रतिशत पुगेको छ। पूँजी संरचनाअनुसार बैंकको ५ अर्ब २ करोड १९ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ भने जगेडा कोष २ अर्ब १८ करोड ४ लाख ६१ हजार रुपैयाँ पुगेको छ।
पुस मसान्तसम्म बैंकले ७३ अर्ब २१ करोड ४० लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब ५३ करोड ८६ लाख ९० हजार रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ।
