कर्पोरेट क्लब नेपालद्वारा ‘कर्पोरेट उत्कृष्टता तथा विशिष्ट सेवा सम्मान–२०२५’ सम्पन्न

काठमाडौँ । कर्पोरेट क्लब नेपाल प्रा.लि.को आयोजनामा ‘कर्पोरेट उत्कृष्टता सम्मान’ तथा ‘विशिष्ट सेवा सम्मान–२०२५’ को पाँचौँ संस्करण शुक्रबार काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा उद्योग, व्यापार, बैंकिङ, बीमा, ऊर्जा, स्वास्थ्य, उत्पादन, कृषि, निर्माण, पुँजी बजार, हवाई सेवा, बहुराष्ट्रिय कम्पनी, स्टार्टअप तथा सामाजिक उद्यम क्षेत्रका उत्कृष्ट संस्था तथा व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।

कार्यक्रममा उद्योग मन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रले नेपालको आर्थिक वृद्धि, रोजगारी सिर्जना र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरे। उनले निजी क्षेत्रको सशक्तिकरणमार्फत देशको औद्योगिक विकास, निर्यात प्रवर्द्धन र लगानी वातावरण सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताए।

कार्यक्रमका विशिष्ट अतिथि अर्थमन्त्री रमेश्वर प्रसाद खनालले निजी क्षेत्र र सरकारबीचको सहकार्यले मात्र दिगो आर्थिक विकास सम्भव हुने बताए। उनले नवप्रवर्तन, उद्यमशीलता र सुशासनमार्फत प्रतिस्पर्धी अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए।

आयोजक समितिकी सह-अध्यक्ष सम्झना शर्माका अनुसार कार्यक्रमको तयारी पछिल्लो पाँच महिनादेखि गरिएको थियो भने निर्णायक समितिले चार महिनासम्म निरन्तर मूल्याङ्कन प्रक्रिया सञ्चालन गरेको थियो। निर्णायक समितिको नेतृत्व पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले गरेका थिए। समितिमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसे, नेपाल सरकारका पूर्व सचिव विनोद सिंह, अर्थशास्त्री डा. गजेन्द्र बिष्ट, बैंक तथा वित्तीय क्षेत्रका विज्ञ तथा पूर्व एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नेपाल पत्रकार महासंघकी उपाध्यक्ष नीतु पण्डित सदस्य थिए।

कार्यक्रमअन्तर्गत उत्पादन, वाणिज्य बैंक, जीवन बीमा, विकास बैंक, वित्त कम्पनी, स्वास्थ्य सेवा, जलविद्युत्, बहुराष्ट्रिय कम्पनी, कृषि व्यवसाय, निर्माण, पुँजी बजार, साना तथा मझौला उद्योग, हरित ऊर्जाजस्ता विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने संस्थाहरूलाई सम्मान गरिएको छ। यस क्रममा सीजी फुड्स, सिद्धार्थ बैंक, नेपाल लाइफ इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक, आईसीएफसी फाइनान्स, तिलगंगा नेत्र अस्पताल, युनिलिभर नेपाल, बुद्ध एयर, साहस उर्जा, कुमारी क्यापिटल, कञ्चनजंघा चिया बगान तथा अनुसन्धान केन्द्र, एलोबजार र सिम्पल इनर्जी लगायत संस्थाहरू सम्मानित भएका छन्।

त्यसैगरी ‘विशिष्ट सेवा सम्मान’ अन्तर्गत कालु हमाल, दिपेन्द्र सिंह ऐरी, आरिका गुरुङ, सबित्री भण्डारी साम्बा, गगन प्रधान र हरि बुद्ध मगरलाई व्यक्तिगत योगदानका लागि सम्मान गरिएको छ। संस्थागततर्फ डोटी मल्टिपल क्याम्पस र दरबार हाई स्कुल सम्मानित भएका छन्। जीवनभरको योगदानका लागि घनश्याम राजकर्णिकारलाई ‘आजीवन उपलब्धि सम्मान’ प्रदान गरिएको थियो। साथै संस्थागत विकासकर्ताका रूपमा श्याम सुन्दर ढौभाडेल तथा प्रा.डा. जगदीश लाल वैद्य र प्रा.डा. अशोक कुमार बास्कोटालाइ विशेष सम्मान प्रदान गरिएको छ।

कार्यक्रमले आगामी दिनमा विभिन्न क्षेत्रका उत्कृष्ट संस्था तथा व्यक्तित्वलाई एउटै मञ्चमा ल्याउँदै निजी क्षेत्र र समाजबीच सहकार्य सुदृढ गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।