जनतालाई राहात: भारतबाट मूल्य बढेर आएपनि बढेन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले अन्तर्राष्ट्रिय बजारबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गरेको छ। निगमले शुक्रबार रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्यमा राहत दिँदै समायोजन गरेको जनाएको छ। यस कदमले उपभोक्तालाई प्रत्यक्ष रूपमा राहत पुग्ने निगमको विश्वास छ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ०.१९ रुपैयाँ, डिजेलमा ४.१६ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर ५४.८४ रुपैयाँ लागत वृद्धि भएको छ भने हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर ९.०८ रुपैयाँ लागत घटेर आएको छ। डिजेलको लागत वृद्धि भए पनि आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिको निर्णयअनुसार खुद्रा बिक्री मूल्यमा सीमित समायोजन मात्र गरिएको निगमले जनाएको छ।

नयाँ मूल्य संरचनाअनुसार डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर ३ रुपैयाँ मात्र वृद्धि गरिएको छ भने हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर ९ रुपैयाँले घटाइएको छ। साथै अन्तर्राष्ट्रिय हवाई इन्धन (काठमाडौँ) को मूल्य प्रतिकिलो लिटर अमेरिकी डलर ७ ले घटाइएको छ। पोखरा र भैरहवाका लागि भने ब्रेकइभेन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ। एलपी ग्यासमा लागत वृद्धि भए पनि हाललाई उपभोक्तामैत्री निर्णय गर्दै बिक्री मूल्य यथावत् राखिएको छ।

निगमका अनुसार पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य भौगोलिक क्षेत्रअनुसार तीन वर्गमा विभाजन गरी कायम गरिएको छ। १५ किलोमिटर क्षेत्रभित्रका लागि नयाँ मूल्य लागू गरिएको हो। यस निर्णयले यातायात, उद्योग, पर्यटन र समग्र उपभोक्ता क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

नेपाल आयल निगमले सहजता, शुद्धता र पारदर्शितालाई आफ्नो प्रतिबद्धताका रूपमा अघि सार्दै उपभोक्तामैत्री नीति अवलम्बन गर्दै आएको जनाएको छ। निगमले आगामी दिनमा पनि अन्तर्राष्ट्रिय मूल्यको अवस्था हेरी उपभोक्ताको हितलाई प्राथमिकतामा राखेर आवश्यक समायोजन गर्दै जाने प्रतिबद्धता जनाएको छ।