राजेन्द्र मल्लको सुझाव: घोषणापत्र यथार्थपरक र कार्यान्वयनयोग्य बनाउनु जरूरी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले राजनीतिक दलहरूले देशको आवश्यकता र क्षमता अनुसार मात्र सम्भव र कार्यान्वयनयोग्य कार्यक्रम समेटेर घोषणापत्र ल्याउनुपर्ने बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित दलका घोषणापत्रमा ‘आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा बोल्दै मल्लले भने,

“घोषणापत्र कागजमा आकर्षक देखिनु भन्दा नागरिकले प्रत्यक्ष लाभ पाउने किसिमको हुनु जरूरी छ। छोटो र व्यावहारिक लक्ष्यसहित अघि बढ्नुपर्छ।”

उनले राजनीतिक दलहरूबीच प्रतिस्पर्धाको क्रममा नकारात्मक एजेन्डा हावी हुने प्रचलन रहेको उल्लेख गर्दै सबै दलहरू आर्थिक एजेन्डामा साझा दृष्टिकोण बनाउनुपर्ने आवश्यकतामा जोड दिए।

मल्लले चालु खर्च करिब ८० प्रतिशत र विकास खर्च २० प्रतिशतमा सीमित भएको वर्तमान आर्थिक अवस्थाको संकेत गर्दै घोषणापत्रमा चालु खर्च घटाएर उत्पादनमुखी गतिविधि बढाउने योजना समावेश गर्नुपर्ने बताए।

युवा रोजगारीका लागि उनले ‘पार्ट–टाइम जब’ अवधारणा राखेर २०–२५ वर्षका युवालाई स्वदेशमै अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिए। कृषि क्षेत्र, वनजंगल, जडीबुटी र सूचना प्रविधि क्षेत्रको सदुपयोग र विकास घोषणापत्रमा प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव थियो।

उनले सरकारी सेवा प्रवाहमा सुधार गर्दै समय–सीमा आधारित कार्ययोजना अनिवार्य गर्नुपर्ने र जवाफदेही प्रणाली स्थापित गर्नुपर्नेमा पनि जोड दिए।

मल्लको धारणा अनुसार यस्ता घोषणापत्रले देशको उत्पादन क्षमता बढाउने, युवा रोजगारी सिर्जना गर्ने र आर्थिक विकासमा गति ल्याउने उद्देश्य पुरा गर्न सक्छ।