नेपाल एसबिआई बैंकको नाफामा उत्साहजनक वृद्धि

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकमा उत्साहजनक वित्तीय प्रदर्शन गर्दै रु. १ अर्ब ३ करोडभन्दा बढी खुद नाफा आर्जन गरेको छ। बैंकका अनुसार दोस्रो त्रैमासिकमा बैंकको खुद नाफा रु. १.०३ अर्ब पुगेको हो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.५६ प्रतिशतले वृद्धि भएको हो।

बैंकले कर्जा जोखिम व्यवस्थापनमा पनि उल्लेखनीय सुधार गरेको छ। कुल निष्क्रिय कर्जा (एनपीएल) दर ९१ आधार बिन्दुले घटाउँदै ३.५५ प्रतिशतबाट २.६४ प्रतिशतमा झार्न सफल भएको बैंकले जनाएको छ। यसले बैंकको कर्जा गुणस्तर थप सबल बन्दै गएको संकेत गरेको छ।

त्यसैगरी, बैंकको गैर–ब्याज आम्दानीमा उल्लेख्य वृद्धि देखिएको छ। बैंकले गैर–ब्याज आम्दानी ४०.२६ प्रतिशतले बढाउँदै रु. ७५.६९ करोडबाट रु. १ अर्ब ६ करोड १६ लाखमा पुर्‍याएको छ। यसले बैंकको आम्दानी स्रोतहरू विविधिकरण हुँदै गएको स्पष्ट देखिन्छ।

पूँजी संरचना अझ सुदृढ बनाउँदै बैंकले आफ्नो पूँजी पर्याप्तता अनुपात १२.८७ प्रतिशतबाट बढाएर १४.१२ प्रतिशत पुर्‍याएको छ, जसमा १.२५ प्रतिशत बिन्दुको सुधार भएको छ। यसका साथै बैंकले कोष लागत उल्लेखनीय रूपमा घटाउँदै ५.५८ प्रतिशतबाट ४.२३ प्रतिशतमा झार्न सफल भएको छ, जुन १.३५ प्रतिशत बिन्दुको सुधार हो।

समग्रमा, नेपाल एसबिआई बैंकको यो त्रैमासिक नतिजाले बैंकको सुदृढ वित्तीय व्यवस्थापन, जोखिम नियन्त्रण र दिगो वृद्धिको स्पष्ट संकेत गरेको छ। बैंकले आगामी दिनमा पनि सेयरधनी, निक्षेपकर्ता र ग्राहक सबैका लागि थप विश्वास र स्थायित्व प्रदान गर्ने अपेक्षा गरिएको छ।