काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई डिजिटल ठगी र जालसाजीका प्रयासप्रति सचेत रहन आग्रह गरेको छ। बैंकका अनुसार पछिल्लो समय बैंकको नाम प्रयोग गर्दै केवाईसी अद्यावधिक गर्नुपर्ने बहानामा फोन, एसएमएस तथा लिंकमार्फत व्यक्तिगत विवरण संकलन गर्ने ठगी प्रयासहरू बढ्दै गएका छन्।
बैंकले स्पष्ट पारेको छ कि बैंकले कहिल्यै पनि ग्राहकलाई फोन, एसएमएस वा लिंक पठाएर केवाईसी विवरण अद्यावधिक गर्न आग्रह नगर्ने, न त ओटीपी कोड सोध्ने गर्दछ। त्यसैले यस्ता शंकास्पद फोन, सन्देश वा लिंकमा क्लिक नगर्न र कुनै पनि गोप्य विवरण साझा नगर्न बैंकले ग्राहकहरूलाई अनुरोध गरेको छ।
बैंकका अनुसार आधिकारिक सूचना तथा जानकारी केवल बैंकको आधिकारिक वेबसाइट र आधिकारिक सामाजिक सञ्जालमार्फत मात्र प्रकाशन गरिन्छ। ग्राहकहरूले शंकास्पद गतिविधि देखिएमा तुरुन्तै बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी जानकारी गराउन पनि आग्रह गरिएको छ।
लक्ष्मी सनराइज बैंकले “सतर्क रहौँ, वित्तीय ठगीबाट बचौँ” भन्ने सन्देशसहित आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ। बैंकले सबै ग्राहकलाई सचेत, सजग र सुरक्षित डिजिटल बैंकिङ अभ्यास अपनाउन पुनः अनुरोध गरेको छ।
