काठमाडौँ । एशियन लाईफ इन्स्योरेन्सले ‘एमडीआरटी अचिभर्स अवार्ड २०२६’ भव्य रूपमा सम्पन्न गरेको छ। होटल सोल्टीमा तीन दिनसम्म चलेको अभिकर्ता सम्मेलन तथा सम्मान कार्यक्रममा देशभरका ३५० भन्दा बढी अभिकर्ताहरूको उल्लेख्य सहभागिता रहेको कम्पनीले जनाएको छ।
कार्यक्रममा प्रत्यक्ष बीमा व्यवसाय गर्ने क्लब मेम्बर अभिकर्ता, आफ्ना मातहतका अभिकर्ता सञ्जालमार्फत व्यवसाय विस्तार गरिरहेका उत्कृष्ट एजेन्सी म्यानेजर तथा सन् २०२६ का लागि एमडीआरटी (मिलियन डलर राउण्ड टेबल) योग्य भएका अभिकर्ताहरूलाई सम्मान गरिएको थियो।
कम्पनीले एमडीआरटी योग्य अभिकर्ताहरूलाई प्रोत्साहनस्वरूप एक–एक थान ल्यापटप, ५० हजार रुपैयाँ नगद चेक तथा ब्लेजर कोट प्रदान गरेको छ। साथै, देशभरबाट उत्कृष्ट तीन जना क्लब मेम्बर र तीन जना एजेन्सी म्यानेजरलाई विशेष सम्मान गरिएको छ।
यसैगरी, एक करोड रुपैयाँभन्दा बढी व्यवसाय योगदान गरेका एजेन्सी म्यानेजरहरूमध्ये सर्वाधिक व्यवसाय गर्ने तीन जनालाई ‘सुपर बिजनेश म्यानेजर’ उपाधीबाट सम्मान गरिएको कम्पनीले जानकारी दिएको छ।
कार्यक्रमको पहिलो सत्रमा कम्पनीका बजार विभाग प्रमुख होमबहादुर श्रेष्ठले अभिकर्ताहरूलाई उत्कृष्ट बिक्रेता तथा सफल बीमा व्यवसायी बन्न आवश्यक रणनीति र सीपबारे प्रशिक्षण दिएका थिए। त्यसैगरी, बजार विभाग उपप्रमुख विजय पराजुलीले कम्पनीको लगानी विविधता, विभिन्न तहका क्लब मेम्बर र एजेन्सी म्यानेजरका सेवा सुविधा तथा प्रोत्साहन योजनाबारे जानकारी गराएका थिए।
सम्मान समारोहसँगै अभिकर्ताहरूको मनोरञ्जनका लागि सांस्कृतिक नृत्य, हास्यव्यङ्ग्य कार्यक्रम तथा लोकप्रिय गायक कालीप्रसाद बासकोटाको ब्याण्डसहितको प्रस्तुति समेत राखिएको थियो।
