५३ वर्षपछि चन्द्रमाको यात्रामा मानव

चन्द्रमामा पछिल्लो पटक मानव पाइला परेको (सन् १९७२) झन्डै साढे पाँच दशकपछि आगामी आइतबार पुनः चार अन्तरिक्षयात्री त्यता जाँदै छन् । ‘आर्टेमिस–२’ नाम दिइएको यस बहुप्रतीक्षित मिसनका लागि अमेरिकी अन्तरिक्ष एजेन्सी, नासाले रकेटको प्राविधिक जाँच, सुरक्षा व्यवस्था, बुस्टरको अन्तिम मर्मतलगायतका काम पूरा गरिसकेको छ ।

अन्तरिक्षको वातावरणसँग आफूलाई मानसिक रूपमा तयार पार्न र स्वास्थ्य अनुकूलता मिलाउन दुई सातादेखि चारै जना अन्तरिक्षयात्री टेक्ससस्थित जनसन स्पेस सेन्टरमा ‘क्वारेन्टिन’ मा छन् । नासाले फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरमा फेब्रुअरी २ मा वेट ड्रेस रिहर्सल (परीक्षण उडान एवं इन्धन भर्ने काम)गर्दै छ ।

अन्तरिक्षयात्रीहरू ठ्याक्कै ५३ वर्षपछि यही फेब्रुअरी ८ देखि ११ को बीचमा चन्द्रमातर्फको यात्रामा निस्कन लागेका हुन् । पूर्वनौसेना पाइलट एवं मिसन कमान्डरका रूपमा रिड विसम्यानले यो मिसनको नेतृत्व गर्नेछन् । पाइलटको भूमिकामा नौसेनाका अर्का पाइलट भिक्टर ग्लोभर छन्, चन्द्रमाको यात्रा गर्ने उनी पहिलो अश्वेत हुनेछन् ।

यी दुईसँग मिसन स्पेसलिस्टका रूपमा अन्तरिक्ष यात्रामा सबैभन्दा लामो समय बिताउने महिलाको कीर्तिमान राखेकी क्रिस्टिना कोच र क्यानडाका रोयल एयर फोर्सका कर्नेल जेरेमी ह्यान्सन छन् । जेरेमी चन्द्रमातर्फ जाने पहिलो गैरअमेरिकी अन्तरिक्षयात्री बन्नेछन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो मिसनले मानव इतिहासको एउटा पुरानो उपलब्धि पुनः सम्झाइदिएको मात्र नभएर नयाँ वैज्ञानिक खोज तथा अनुसन्धान एवं मंगलग्रह अभियानका लागि समेत बाटो खोल्ने अपेक्षा गरिएको छ । यसअघि सन् १९७२ डिसेम्बरमा अपोलो–१७ मिसनमा तीन जना अन्तरिक्षयात्री अन्तिम पटक चन्द्रमामा पुगेका थिए ।

यसपालि अन्तरिक्षयात्रीहरूले चन्द्रमाको सतहमा अवतरण भने गर्ने छैनन्, यो ‘फ्लाई बाई’ अर्थात् चन्द्रमाको परिक्रमा गर्ने मिसन हो । तथापि यसमा उनीहरूले चन्द्रमाको सुदूर भेगसमेत अवलोकन गर्दै छन् । सन् २०२७ वा २०२८ मा हुने ‘आर्टेमिस–३’ मिसनको अभ्यासस्वरूप यो यात्रा गर्न लागिएको हो । आर्टेमिस–३ का यात्रीहरूले भने चन्द्रमामा अवतरण गर्नेछन् । सो मिसनका लागि इलन मस्कको कम्पनी, स्पेस एक्सले ‘स्टारसिप’ नामक यान बनाइरहेको छ ।

‘आर्टेमिस–२’ यस मिसनमा यात्रीहरू ‘ओरियन’ नामक अन्तरिक्षयानमा चढेर जाँदै छन् भने त्यसलाई नासाको शक्तिशाली स्पेस लन्च सिस्टम ९एसएलएस० रकेटले अन्तरिक्षमा पुर्‍याउनेछ । जम्मा १० दिन लामो उडानका क्रममा सो अन्तरिक्षयान चन्द्रमालाई परिक्रमा गरी पृथ्वीमा फर्किनेछ । नासाका अधिकारीहरूले यो उडान कुनै साधारण अभ्यास नभएर चन्द्र सतहमा पुनः मानव अवतरणतर्फको निर्णायक सेतु भएको दाबी गरेका छन् ।

नासाका प्रमुख प्रशासक बिल नेल्सनले यसअघि सार्वजनिक ब्रिफिङहरूमा भनेका थिए, ‘हामी फेरि चन्द्रमामा फर्किंदै छौं । तर, यस पटक पहिलेजस्तो जाने–आउनेभन्दा पनि त्यहाँ दीर्घकालीन रूपमै बस्ने हाम्रो तयारी छ ।’ नासाले आर्टेमिस कार्यक्रमको मूल लक्ष्यका रूपमा ‘स्थायी बसोबास’ लाई दोहोर्‍याउँदै आएको छ भने चन्द्रमालाई मंगलग्रहमा जाने ‘ट्रान्जिट’ बनाउने सोच पनि यसमा जोडिएको छ ।

आर्टेमिस–२ मिसन किन फरक र महत्त्वपूर्ण छ भन्ने कुरा नासाको सोही लक्ष्यबाट बुझ्न सकिन्छ । अपोलो मिसनहरू शीतयुद्धकालीन स्पेस होडबाजीबाट जन्मिएका थिए । आणविक प्रविधिको दौड र आतंकबीचको बढी अब्बल हुने भन्ने प्रतिस्पर्धाले नै अपोलो मिसन सम्भव बनाएको थियो ।

आर्टेमिस भने दीर्घकालीन सोचमा आधारित छ, यसमा एक–दुई उडान र फोटोअप मात्र नभएर एउटा प्रणाली नै निर्माण गर्ने नासाको योजना छ । आर्टेमिस–२ सोही प्रणालीको पहिलो मानवसहितको परीक्षण हो । ओरियन यानमा रहेको उन्नत नेभिगेसन प्रविधि, सौर्य विकिरणबाट बचाउने ‘स्टर्म सेल्टर’, एसएलएस रकेटको क्षमता र झन्डै १० दिन लामो अन्तरिक्ष यात्रामा मानव सहनशीलताको परीक्षा यस मिसनमा हुनेछ ।

पुनः चन्द्रमामा पुग्ने महत्त्वाकांक्षाको मूल्य पनि त्यत्तिकै ठूलो छ । नासाका अधिकारीहरूको अनुमानअनुसार आर्टेमिस कार्यक्रमको कुल लागत सन् २०२७ सम्ममा ९० अर्ब अमेरिकी डलरभन्दा बढी पुग्नेछ । यो अपोलो कार्यक्रममा भएको करिब २५ अर्ब अमेरिकी डलर ९आजको मुद्रास्फीतिअनुसार करिब २८० अर्ब अमेरिकी डलर० खर्चभन्दा ठूलो हो ।

एक पटकको आर्टेमिस उडानमा ४ अर्ब डलरभन्दा बढी खर्च हुने अनुमान छ । अपोलो जमानाको स्याटर्न–५ रकेट प्रक्षेपण आजको मूल्यमा करिब १.२ अर्ब डलर पर्थ्यो । अपोलो मिसनका जमानामा एक पटक प्रयोग भएपछि नष्ट हुने यान बन्थे, आर्टेमिसमा पुनःप्रयोग हुने प्रविधि बनाइएको छ । यस पटक भविष्यमा चन्द्रमामै बस्ने र काम गर्ने आधारभूत संरचना तयार गरिँदै छ ।

प्रविधिको दृष्टिले पनि यी दुई मिसनमा युगकै दूरी छ । अपोलोका अन्तरिक्षयात्रीहरूले आजको साधारण क्याल्कुलेटरभन्दा कमजोर क्षमताको पहिलो पुस्ताको कम्प्युटर प्रयोग गरेर नेभिगेसन (बाटो पहिल्याउने काम) गरेका थिए । ओरियनको एभियोनिक्स प्रणाली र फ्लाइट सफ्टवेयर निकै उन्नत र अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित छ ।

यसले रकेट उडाउने, अक्सिजन र तापक्रम मिलाउने, नेभिगेसन गर्ने र पृथ्वीसँग सञ्चारजस्ता हजारौं काम स्वाचालत रूपमा एकैसाथ गर्न सक्ने नासाको वेबसाइटमा जेनिफर हार्बगले लेखेकी छन् । सन् २०२२ मा भएको मानवरहित आर्टेमिस–१ प्रक्षेपणपछि ओरियनको ‘हिट सिल्ड’ ९ताप प्रतिरोधी प्रविधि० मा देखिएको समस्याका कारण यसलाई पुनः डिजाइन र जाँच गरिएको थियो । नासाका अनुसार यसअघि सन् २०२४ मै हुने भनिएको उडान ढिलो हुनुमा प्रणालीलाई थप सुरक्षित बनाउन समय लागेको हो ।

आर्टेमिस–२ ले अन्तरिक्ष यात्राको नयाँ मोडल पनि देखाउनेछ । यो मिसन सन् १९६० को दशकमा सोच्दा पनि नसोचिएको अन्तर्राष्ट्रिय र निजी क्षेत्रसँगको साझेदारीको अवधारणामा आधारित छ । युरोपियन स्पेस एजेन्सीले ओरियनको सर्भिस मोड्युल उपलब्ध गराएको हो भने क्यानडाले रोबोटिक प्रविधिमा योगदान गरेको छ । यसको सट्टामा क्यानडाले पहिलो पटक चन्द्रयात्रामा आफ्ना एक अन्तरिक्षयात्री पठाउने अवसर पनि पाएको छ । निजी क्षेत्रतर्फ इलन मस्कको ‘स्पेस एक्स’ को नेतृत्वमा रहेका विभिन्न कम्पनीहरूले आर्टेमिस–३ का लागि चन्द्र सतहमा अवतरण गराउने यान बनाइरहेका छन् ।

नासाले यस पटक चन्द्रमाको दक्षिणी ध्रुवनजिक मानव अवतरण गराउने लक्ष्य लिएको छ । त्यहाँ अपोलो यानहरू कहिल्यै पुगेनन् । त्यस क्षेत्रमा लामो समयदेखि जमेको पानीको बरफ रहेको विश्वास गरिन्छ । पानीको सम्भावित स्रोत पहिल्याउन पाए भविष्यमा चन्द्रमालाई दीर्घकालीन र ठूला प्रकृतिका अन्तरिक्ष यात्राका लागि आधार बनाउन सकिने र अन्ततः मंगलग्रहसम्म मानव पठाउने नासाको योजना छ ।

नासाका पूर्वएसोसिएट एड्मिनिस्ट्रेटर जिम फ्रीले गत वर्ष सेवा निवृत्त हुनुअघि सञ्चारकर्मीहरूसँग भनेका थिए, ‘हामी पृथ्वीबाहिर लामो समय बाँच्न र काम गर्न सिक्ने क्रममा छौं, त्यो प्रमाणित गर्ने ठाउँ चन्द्रमा नै हो ।’

आर्टेसिम–२ मिसनअन्तर्गत चन्द्रमातर्फ यात्रा गर्ने दिन नजिकिएसँगै अन्तरिक्षमा फर्किएको रौनक पहिलेझैं विश्व भूराजनीतिक प्रतिस्पर्धाबाट अलग भने छैन । चीनले यसै दशकको अन्त्यतिर मानिसलाई चन्द्रमामा पठाउने योजना सार्वजनिक गरिसकेको छ भने रुससँग मिलेर चन्द्रमामा अनुसन्धान केन्द्र निर्माणको प्रस्ताव अघि सारेको छ ।

भारतले पनि चन्द्रमामा मानव पठाउने औपचारिक घोषणा गरिसकेको छ । टेलिग्राफ इन्डियाका अनुसार गत वर्ष प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इस्रो) ले सन् ‘अन्तरिक्ष मार्गचित्र’ प्रस्तुत गरेका थिए । भारतले सन् २०४० भित्र चन्द्रमाको सतहमा गगनयात्री ९भारतीय अन्तरिक्षयात्री० उतार्ने र उनीहरूलाई सुरक्षित रूपमा पृथ्वीमा फर्काउने लक्ष्य राखेको छ ।

झन्डै ५ दशकपछि मान्छेलाई चन्द्रमामा फर्काउने, लामो समय बस्न सक्ने र त्यही बसाइलाई मंगल र अन्य ग्रहसम्म पुर्‍याउने जोसचाहिँ अन्तरिक्षमा निजी क्षेत्रको प्रवेशले आएको हो । नवीनतम सोच र लगानीसहित विश्वका विशेषतः प्रविधि क्षेत्रका अर्बपतिहरू अन्तरिक्ष अभियानमा जोडिन थालेका छन् ।

पहिलेका अन्तरिक्ष उडानहरू सरकारी लगानी र सैनिक प्रविधिको प्रयोगमा सीमित थिए भने अहिले निजी कम्पनीहरू अन्तरिक्ष पर्यटन, रियुजेबल रकेटजस्ता नयाँ र मितव्ययी अवधारणासहित उदाएका छन् । तथापि आर्टेमिस भने अझै अमेरिकी सरकार र अन्य देशका सरकारी नेतृत्व र लगानीमै सञ्चालन हुनेछ ।

अपोलो ८, ९ र १० मा जस्तो आर्टेमिस–२ यात्रामा मानिसले चन्द्र सतहमा पाइला नटेके पनि आधा शताब्दीपछि मानव जाति पृथ्वीको सबैभन्दा नजिकको छिमेकीतर्फ फर्किनुलाई रुचिपूर्वक हेरिएको छ ।

ओरियन अन्तरिक्षयान चन्द्रमाको पछाडिपट्टिको भागतर्फ जाँदा केही क्षणका लागि पृथ्वीबाट सम्पर्कविहीन हुँदा र १० दिन बिताउँदा, यसले मानिस, पृथ्वी र चन्द्रमाको सम्बन्धलाई पुनः जागृत गर्ने विश्वास लिइएको छ । सम्भवतः एक पटकका लागि नभई यसले दीर्घकालीन यात्राको सुरुवात र अझै उन्नत मानव–प्रविधिको प्रदर्शन प्रस्तुत गर्ने अपेक्षा पनि छ ।

(एजेन्सीको सहयोगमा)

 

कान्तिपुरबाट साभार