सूर्यज्योति लाइफ स्थिर उकालोमा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिनामा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नाफामा क्रमिक सुधार गर्दै सकारात्मक वित्तीय नतिजा प्रस्तुत गरेको छ।

कम्पनीले सार्वजनिक गरेको साउनदेखि पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा २० करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा २.९० प्रतिशतले बढी हो। गत वर्ष पुस मसान्तसम्म कम्पनीको नाफा १९ करोड ६१ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क आर्जन उल्लेख्य रूपमा बढेको छ। पुस मसान्तसम्म कम्पनीले ५ अर्ब ७९ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रहेको ५ अर्ब ६ करोड ४७ लाख रुपैयाँको तुलनामा उच्च हो।

त्यस्तै, खुद बीमाशुल्क आर्जन १४.६२ प्रतिशतले वृद्धि भई ५ अर्ब ७१ करोड २ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले ४ अर्ब ९८ करोड १५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

वित्तीय सुदृढताको महत्वपूर्ण सूचक जीवन बीमा कोषको आकारमा पनि उल्लेख्य वृद्धि देखिएको छ। गत वर्ष पुससम्म ३७ अर्ब ७३ करोड ४० लाख रुपैयाँ रहेको जीवन बीमा कोष चालु वर्षको सोही अवधिमा बढेर ४६ अर्ब १७ करोड १० लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ८ रुपैयाँ ०६ पैसा, प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ३३ पैसा र मूल्य–आम्दानी अनुपात (P/E Ratio) ५५.६९ गुणा कायम भएको छ।

५ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ति कोषमा ४४ करोड २ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४५ करोड २९ लाख रुपैयाँ तथा अन्य इक्विटीमा २७ करोड ६० लाख रुपैयाँ सञ्चित रहेको छ। समग्र सूचकहरूले कम्पनीको व्यवसाय विस्तार र वित्तीय आधार क्रमशः बलियो बन्दै गएको देखाउँछन्।