उद्योगी–व्यवसायी बीच सहकार्य सुदृढ

मोरङ । मोरङ उद्योग व्यापार संघले वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरुलाई आफ्नो कार्यालयमा स्वागत गर्दै औपचारिक भेटघाट तथा छलफल गरेको छ।

भेटघाटमा मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडा, कार्यकारिणी सदस्य विनित सिंघानिया लगायतका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोजकुमार दास र आशिषकुमार लाठको नेतृत्वमा विराटनगर आएको टोलीलाई स्वागत गरे।

भेटघाटको क्रममा आपसी सद्भाव, सहकार्य र पारस्परिक सम्बन्ध विस्तारका विषयमा विचार–विमर्श गरिएको थियो। संघका उपाध्यक्ष अनिल सारडाले विशेष गरी विराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगञ्जजस्ता प्रमुख आर्थिक कोरिडोरमा संलग्न उद्योगी तथा व्यवसायीहरूले अन्य क्षेत्रको तुलनामा धेरै जमीनीस्तरका व्यवहारिक समस्याहरू सामना गर्नु परेको उल्लेख गरे।

सारडाले साझा समस्याहरूको समाधानका लागि मोरङ उद्योग व्यापार संघ, वीरगञ्ज उद्योग वाणिज्य संघ लगायत संघ–संस्थाहरूले संयुक्त रूपमा सरकारसँग सशक्त दबाब सृजना गर्नु आवश्यक रहेको धारणा राखे।

त्यस्तै, वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोजकुमार दासले निजी क्षेत्रका समस्याहरूको उठान र समाधानमा मोरङ संघले देखाएको नेतृत्वदायी भूमिका र पहलको प्रशंसा गरे। उनले उद्योगी–व्यवसायीको साझा हितका लागि आवश्यक सबै सहकार्य र पहलमा आफ्नो संघ सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरे।

भेटघाटले पूर्व–पश्चिम र विभिन्न आर्थिक कोरिडोरका संघहरूबीच सहकार्य र सञ्जाल सुदृढ पार्ने सकारात्मक संकेत दिएको छ।