नाफा र आम्दानीमा सुधार, एशियन लाइफको दोस्रो त्रैमास सन्तोषजनक

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासमा एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले नाफा र आम्दानी दुवैमा सुधार देखाएको छ। कम्पनीले सार्वजनिक गरेको चालू वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३० प्रतिशतले वृद्धि भएको हो।

साउनदेखि पुस मसान्तसम्मको अवधिमा कम्पनीले २६ करोड ३५ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा इन्स्योरेन्सले २५ करोड ३ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

नाफा बढे पनि पूँजी वृद्धिको प्रभावका कारण प्रतिशेयर आम्दानीमा भने गिरावट आएको छ। पुस मसान्तमा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ १८ पैसा घटेर १० रुपैयाँ ५४ पैसामा सीमित भएको छ। यस अवधिमा प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात ४४.९४ गुणा कायम भएको छ।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ११.४० प्रतिशतले बढेर ४ अर्ब ६४ करोड ६९ लाख १५ हजार रुपैयाँ पुगेको छ। यस्तै, कुल आम्दानी ७.३४ प्रतिशत वृद्धि भई ६ अर्ब ५३ करोड ८२ लाख ८३ हजार रुपैयाँ पुगेको छ।

यसैगरी, कुल दाबी भुक्तानी ७.७२ प्रतिशतले बढेर ५ अर्ब २३ करोड ४५ लाख ५० हजार रुपैयाँ पुगेको छ भने कुल खर्च ८.४० प्रतिशतले वृद्धि भई ५ अर्ब ९९ करोड २२ लाख १२ हजार रुपैयाँ पुगेको छ।

हाल ५ अर्ब १ लाख ५९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको एशियन लाइफ इन्स्योरेन्सको शेयर प्रिमियम १० करोड ९९ लाख ९२ हजार रुपैयाँ छ। त्यस्तै, महाविपत्ति कोषमा ३१ करोड ३८ लाख २९ हजार रुपैयाँ, रिटेन्ड अर्निङ्समा ९१ करोड ९० लाख ९६ हजार रुपैयाँ र अन्य इक्विटीमा ९ करोड ४० लाख ७८ हजार रुपैयाँ सञ्चित रहेको कम्पनीले जनाएको छ।