नेपाल धितोपत्र बोर्डले ३४औँ वार्षिकोत्सवमा लेख आह्वान

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आफ्नो ३४औँ वार्षिकोत्सवको अवसरमा प्रकाशन गर्न लागेको ‘लेख विशेषाङ्क–२०८३’ का लागि पौरखी तथा विश्लेषणात्मक लेखहरू आह्वान गरेको छ।

बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले जारी गरेको सूचनाअनुसार, धितोपत्र बजार, वस्तु विनिमय बजार, मुद्रा बजार, वित्तीय प्रणाली र समग्र अर्थतन्त्रसँग सम्बन्धित विषयमा लेख पठाउन सकिनेछ। लेख नेपाली वा अंग्रेजी दुवै भाषामा हुन सक्ने बोर्डले जनाएको छ।

लेख कम्तीमा २,५०० शब्दको हुनुपर्नेछ र पूर्णरूपमा मौलिक हुनु आवश्यक छ। कतै प्रकाशित वा प्रकाशनका लागि पठाइएको सामग्री पुन: स्वीकार्य नहुने बोर्डले स्पष्ट पारेको छ। लेख तयार पार्दा बौद्धिक कृत्रिमता (AI) को प्रयोग गर्न पनि नपाइने बताइएको छ।

इच्छुक लेखक तथा विज्ञहरूले आफ्ना लेखहरू आगामी २०८३ वैशाख १५ गते भित्र बोर्डको आधिकारिक इमेलमार्फत पठाउनु पर्नेछ। प्राप्त लेखहरू प्रकाशन गर्ने वा नगर्ने सम्पूर्ण अधिकार बोर्डमै सुरक्षित रहेको सूचनामा उल्लेख छ।