कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीद्वारा शान्तिपूर्ण निर्वाचनको आश्वासन

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन शान्तिपूर्ण र सुरक्षित वातावरणमा हुने बताएका छन्। प्रारम्भमा सुरक्षाको विषयमा जिज्ञासा भए पनि अहिले सबै चुनौती व्यवस्थापन भएको उनले बताए।

भण्डारीले भने, “यो शताब्दीकै सुरक्षा सन्दर्भमा पेचिलो निर्वाचन हो, त्यसैले घोषणा भएको भोलिपल्टदेखि हामीले सुरक्षा छलफल सुरु गरेका थियौं। विद्रोहपछिको सरकार, पुराना र नयाँ शक्तिबीच सन्तुलन कायम नभए निर्वाचन शान्तिपूर्ण हुन्नथ्यो।”

उनले भदौ २३–२४ को जेनजी आन्दोलन र त्यसपछिको घटनाक्रम स्मरण गर्दै भने, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिएपछि अन्तरिम सरकार गठन भएको र त्यसको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी फागुन २१ मा निर्वाचन मिति घोषणा गरेका थिए।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले दलका नेता र उम्मेदवारहरूबाट उठेका सुरक्षासम्बन्धी चुनौतीहरू पहिचान गरी सरकार र सुरक्षा निकायसँग पटक–पटक छलफल गरिएको जानकारी दिए। उनले मतदाताको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकाय पर्याप्त रूपमा सक्षम रहेको पनि उल्लेख गरे।

भण्डारीले निष्कर्षसहित भने, “सबै कोणबाट हेर्दा अब शान्ति सुरक्षाबारे धेरै टाउको दुखाउनुपर्ने आवश्यकता छैन। निर्वाचन ढुक्कसँग हुनेछ र शान्तिपूर्ण रूपमा सम्पन्न हुनेछ। बिथोल्न खोज्ने तत्त्व सुरुमै परास्त भइसकेका छन्।”

यसैसन्दर्भमा आयोगले मतदाता, दल र सुरक्षा निकायबीच निरन्तर समन्वय गर्दै शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न तयारी पूरा गरेको छ।