काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले Sustainable Electric Transport for Nepal (SET4NPL) परियोजनासँग समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेको छ । उक्त परियोजना Mitigation Action Facility को आर्थिक सहयोग, नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा Global Green Growth Institute (GGGI) को सहकार्यमा जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था जिआइजेड (GIZ) मार्फत सञ्चालन हुँदै आएको छ ।
SET4NPL परियोजनाले नेपालको सार्वजनिक यातायात क्षेत्रमा विद्युतिय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्दै त्यसलाई सर्वस्वीकार्य बनाउने उद्देश्य लिएको छ । परियोजनाअन्तर्गत सार्वजनिक यातायात सञ्चालकहरू तथा ती क्षेत्रमा लगानी गर्ने वित्तीय मध्यस्थकर्ता संस्था (हायर पर्चेज कम्पनी, बैंक तथा वित्तीय संस्था) लाई विभिन्न प्रकारका वित्तीय तथा गैर–वित्तीय प्रोत्साहन प्रदान गरिनेछ । यसले नेपालको सार्वजनिक यातायात प्रणालीलाई दिगो, सुविधाजनक तथा प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ ।
परियोजनाअन्तर्गत करिब ३ हजार ५ सय विद्युतिय माइक्रोबस तथा मिनिबस खरिद तथा सञ्चालनका लागि विभिन्न प्रोत्साहन प्याकेजहरू उपलब्ध गराइनेछ । साथै, विद्युतिय सवारी साधनहरूमा जीपीएस, ई–टिकटिङ उपकरण तथा नेटवर्किङ प्रणाली जडान गरी एक केन्द्रीय वेब पोर्टलमार्फत सबै सवारी साधनलाई एकीकृत गरिने व्यवस्था गरिएको छ ।
समझदारी अनुसार नेपाल एसबिआई बैंक लिमिटेडले वित्तीय मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै नेपालको हरित पहलमा जिम्मेवार योगदान पुर्याउने लक्ष्य लिएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कर्जा अधिकृत रोशन कोइराला र आयोजनाका तर्फबाट जिआइजेड नेपालका मुख्य सल्लाहकार डिएगो सेनोनोरबीच हस्ताक्षर तथा आदान–प्रदान भएको हो ।
नेपाल एसबिआई बैंक लिमिटेडले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका देशभर १०२ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा केन्द्र, १२७ एटिएम तथा १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।
