डिजिटल ठगीबाट बच्न सांग्रिला डेभलपमेन्ट बैंकको सचेतना अभियान

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले डिजिटल ठगी तथा अनलाइन अपराधबाट ग्राहकहरूलाई सुरक्षित राख्न सचेतना अभियान सञ्चालन गरेको छ । बैंकले ग्राहकहरूलाई फोन, एसएमएस वा सामाजिक सञ्जालमार्फत आउने शंकास्पद सन्देश र फोन कलप्रति सतर्क रहन आग्रह गरेको छ ।

बैंकले आफ्नो कर्मचारीको नाम लिएर वा बैंकको प्रतिनिधि बनेर पासवर्ड, ओटीपी, पिन नम्बर तथा कार्ड विवरण माग्ने कार्यहरू ठगीको संकेत हुन सक्ने भएकाले यस्ता संवेदनशील जानकारी कसैसँग पनि साझा नगर्न विशेष अनुरोध गरेको छ । यस्ता विवरण सार्वजनिक गर्दा ग्राहकको खाताबाट रकम चोरी हुने तथा अन्य आर्थिक क्षति हुन सक्ने बैंकले जनाएको छ ।

त्यसैगरी, अनलाइन तथा डिजिटल माध्यम प्रयोग गर्दा व्यक्तिगत तथा गोप्य जानकारी सुरक्षित राख्न, शंकास्पद लिंक, एप वा सन्देशमा क्लिक नगर्न र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त बैंकलाई जानकारी गराउन बैंकले आग्रह गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले डिजिटल गोपनीयता र सुरक्षित बैंकिङ अभ्यासलाई प्राथमिकतामा राख्दै ग्राहकहरूलाई सधैं सचेत र सुरक्षित रहन अनुरोध गरेको छ ।