कोरला नाकामा अवैध कारोबार नियन्त्रणमा

मुस्ताङ । माथिल्लो मुस्ताङस्थित कोरला नाकाबाट भित्र्याइँदै गरिएको अवैध सामान संयुक्त सुरक्षा टोलीले बरामद गरेको छ। लोमान्थाङ–४ छोसेरस्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालय, सशस्त्र प्रहरी बल नेपाल (बिओपी) तथा इलाका प्रहरी कार्यालय छोसेरको संयुक्त गस्ती टोलीले करिब १ लाख १७ हजार रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको हो।

लोमान्थाङस्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका नायब सुब्बा भोजराज अधिकारीको नेतृत्वमा खटिएको टोलीले नियमित सीमा गस्तीका क्रममा उक्त अवैध सामान फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार बरामद गरिएको अवैध सामान आवश्यक कानुनी प्रक्रिया पूरा गर्न न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयको जिम्मा लगाइएको छ।

यसअघि पनि कोरला नाकाबाट ठूला परिमाणका अवैध सामग्री बरामद हुँदै आएका छन्। गत पुस २७ गते कोरला नाकामा रोकिराखिएको मालबाहक कन्टेनर खानतलासी गर्दा करिब २ करोड २४ लाख रुपैयाँ बराबरको अवैध विद्युतीय चुरोट (भेप) बरामद गरिएको थियो। त्यस्तै, २०८१ पुस २० गते कोरला नाका हुँदै लुकाइछिपाई जोमसोमतर्फ ल्याउँदै गरिएको ६ करोड ८१ लाख रुपैयाँ बराबरको अवैध विद्युतीय चुरोट पनि नियन्त्रणमा लिइएको थियो।

हिउँदयाममा सीमावर्ती क्षेत्रहरूबाट अवैध रूपमा सामान ओसारपसार, चोरी–शिकारी तथा अन्य गैरकानुनी गतिविधि बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाकर्मीहरूले कोरला नाकासहित आसपासका क्षेत्रमा निरन्तर र कडाइका साथ सीमा गस्ती जारी राखेको बताएका छन्। यसले अवैध कारोबार नियन्त्रणमा सकारात्मक परिणाम देखिन थालेको सुरक्षा निकायको भनाइ छ।