चीन खुला यात्रातर्फ, बेलायत–क्यानडालाई भिसा छुट

काठमाडाैं । चीन ले बेलायतक्यानडा का नागरिकहरूका लागि भिसा बिना नै चीन भ्रमण गर्न पाउने व्यवस्था लागू गर्ने भएको छ। आगामी फेब्रुअरी १७ देखि लागू हुने यो नीतिअन्तर्गत बेलायत र क्यानडाका नागरिकहरूले ३० दिनसम्म भिसा बिना चीन भ्रमण गर्न सक्नेछन्।

चीनको विदेश मन्त्रालय का अनुसार पर्यटक, व्यवसायिक प्रयोजनका यात्रु तथा परिवार र साथीभाइ भेट्न जानेहरूका लागि यो सुविधा उपलब्ध हुनेछ। प्रारम्भिक रूपमा यो नीति आगामी डिसेम्बर ३१ सम्म लागू रहने मन्त्रालयले जनाएको छ।

यो निर्णय बेलायती प्रधानमन्त्री सर कियर स्टारमर ले गत महिना चीनको औपचारिक भ्रमण गरी राष्ट्रपति सी जिनपिङ सँग भेटवार्ता गरेपछि भएको सहमतिपछि आएको हो। सो भ्रमणका क्रममा दुवै देशले आपसी यात्रासम्बन्धी नियमहरू खुकुलो बनाउने सहमति जनाएका थिए।

प्रधानमन्त्री स्टारमरले यस व्यवस्थाले बेलायती व्यवसायहरूलाई चीनमा विस्तार गर्न सहज बनाउने विश्वास व्यक्त गरेका छन्। यद्यपि, केही आलोचकहरूले मानवअधिकार र राष्ट्रिय सुरक्षाका विषय ओझेलमा पर्न सक्ने टिप्पणी पनि गरेका छन्।

चीनको विदेश मन्त्रालयले आइतबार यस नीतिको औपचारिक मिति घोषणा गर्दै यस कदमले चीन र अन्य देशहरूबीचको जनस्तरको सम्पर्क र आपसी समझदारी अझ बलियो बनाउने अपेक्षा व्यक्त गरेको छ।

नयाँ व्यवस्थासँगै बेलायत र क्यानडाका पासपोर्ट वाहकहरूले अब फ्रान्स, जर्मनी, इटाली, अस्ट्रेलियाजापान सहित अन्य करिब ५० देशका नागरिकसरह भिसा छुटको सुविधा पाउने भएका छन्।

तथ्याङ्कअनुसार सन् २०२४ मा करिब ६ लाख २० हजार बेलायतीहरूले चीन भ्रमण गरेका थिए। यस नयाँ नीतिले आगामी दिनमा लाखौँ बेलायती तथा क्यानडाली यात्रुहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।

स्टारमर सन् २०१८ मा थेरेसा मे पछि चीन भ्रमण गर्ने पहिलो बेलायती प्रधानमन्त्री हुन्। उनको भ्रमण र पछिल्लो सहमतिले स्वास्थ्य सेवा, हरित प्रविधि र वित्तीय क्षेत्रमा चीन–बेलायत व्यापारिक सहकार्य थप मजबुत बन्ने संकेत देखिएको छ।