छैठौँ महिनामा ५३ अर्ब कर छुट, लगानी र सार्वजनिक क्षेत्रमा सुविधा

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा करदातालाई कुल ५३ अर्ब ४० करोड रुपैयाँ बराबर कर छुट प्रदान गरेको छ। अर्थ मन्त्रालयका अनुसार यस अवधिमा आर्थिक ऐन र भन्सार ऐनअन्तर्गत विभिन्न छुटमार्फत करदातालाई लाभ पुगेको हो।

वस्तु आयातमा दिइएको छुटको विवरणअनुसार कुल ५२ अर्ब ५४ करोड बराबरको राजस्व छुट गरिएको छ। मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा ५ (३) तथा अनुसूची १ अनुसार २९ अर्ब ७० करोड ३३ लाख बराबरको मूल्य अभिवृद्धि कर छुट गरिएको छ।

भन्सार ऐन २०६४ को दफा ९ अनुसार कूटनीतिक सुविधा अन्तर्गत पैठारी भएका मालवस्तुमा ४८ करोड २९ लाख, महसुल सुविधा अन्तर्गत पैठारी भएका वस्तुमा ४ करोड २१ लाख छुट दिइएको छ।

आर्थिक ऐन २०८२ को दफा १८ (२) अनुसार मुनाफारहित सार्वजनिक तथा सामुदायिक संस्था, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र नेपाल सरकारको स्वामित्व भएका संस्थाले आयात गरेका मालवस्तुमा ९५ करोड ५ लाख बराबर छुट प्राप्त गरेको छ। दफा १८ (३) अनुसार आयोजना विकास सम्झौताका ठेकेदारलाई पैठारी भएको मालवस्तुमा १ अर्ब ४९ करोड ७८ लाख छुट दिइएको छ।

भन्सार महसुल ऐन २०८२ को दफा ११ अनुसार साफ्टा सुविधा अन्तर्गत पैठारी भएका मालवस्तुमा २ अर्ब ७६ करोड ९६ लाख बराबर छुट उपलब्ध भएको छ। यसका साथै भन्सार महसुल ऐनका अन्य दफा अन्तर्गत १७ अर्ब ४० करोड ३३ लाख बराबर छुट प्रदान गरिएको छ।

आर्थिक ऐन २०८२ अन्तर्गत कुल ३ हजार ४ सय ७७ करदाताले ५५ करोड ५७ लाख बराबर छुट पाएका छन्। कर छुट दफा २४, २५, २७ अन्तर्गत उपदफा अनुसार प्रदान गरिएको अर्थ मन्त्रालयले जनाएको छ।