काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आर्थिक सहयोग उपलब्ध गराउन चीनले पनि इच्छा देखाएको छ।
निर्वाचनको सहयोगार्थ चीनले करिब ५८ करोड रुपैयाँ उपलब्ध गराउने गरी प्रस्ताव गरेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको हो।
अर्थमन्त्री रामेश्वर खनालले पनि निर्वाचन सहयोगार्थ चीनबाट आर्थिक सहयोगको प्रस्ताव आएको स्वीकार गरे । तर प्रस्तावको विषयमा भने हालसम्म सम्झौता नभएको बताएका छन् ।
चुनावका लागि भारतले ६५० वटा सवारी साधन, जापानले ४० करोड रुपैयाँ र यूएनडीपीले निर्वाचन आयोगलाई सहयोग उपलब्ध गराएको छ।
भारतले उपलब्ध गराउने ६५० सवारीमध्ये तीन चरणमा ३१० भन्दा बढी सवारी साधन उपलब्ध गराइसकेको छ । जापानले यसअघि नेपाललाई उपलब्ध गराएको सहयोगबाट खर्च हुन नसकेको रकम उपलब्ध गराएको हो ।
उक्त सहयोग रकम दुवै देशको सम्झौताको आधारमा टुंगोमा पुगिसकेको छ । यूएनडीपीले विगतमा पनि चुनावका लागि सहयोग गर्ने गरेको थियो। हालको सहयोग पनि त्यसको निरन्तरता भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
