काठमाडौं । बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले अनुगमनका क्रममा कैफियत देखिएपछि एक फर्मलाई नगद जरिवाना गरेको छ।
स्थलगत अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका–११, ट्रमा सेन्टरमा सञ्चालनमा रहेको सुनिल क्यान्टिन लाई नियम उल्लङ्घन गरेको पाइएपछि पाँच हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
यस्तै, विभागले चाबहिलस्थित हेल्दी बाइट्स सर्भिसेज प्रालि लाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ। अनुगमनका क्रममा केही त्रुटि देखिएका अन्य ११ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ।
विभागका अनुसार स्थानीय सरोकारवाला, उपभोक्ता अधिकारकर्मी तथा सम्बन्धित निकायहरूको उपस्थितिमा नियमित रूपमा बजार अनुगमन गर्दै कानुनको प्रभावकारी कार्यान्वयन गरिँदै आएको छ। यस प्रकारका अनुगमनले उपभोक्ताको हकहित संरक्षण गर्दै बजारमा अनुशासन र पारदर्शिता कायम गर्न सहयोग पुग्ने विभागको विश्वास छ।
