काठमाडौं । यही फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले नेपाल सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ।
आयोगले आइतबार सरकारलाई पत्र पठाउँदै मतदाताहरूलाई आफ्नो ‘थातथलो’ फर्कन, मतदान गर्न र पुनः कर्मथलो फर्कन सहज वातावरण मिलाउन फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन प्रस्ताव गरेको हो। आयोगका अनुसार यस कदमले मतदाताको उत्साहजनक सहभागिता बढाउने अपेक्षा गरिएको छ।
आयोगको सिफारिसबारे सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल भई आवश्यक निर्णय हुन सक्ने बताइएको छ। यदि मन्त्रिपरिषद्ले प्रस्ताव स्वीकृत गरेमा तीन दिन सार्वजनिक बिदा औपचारिक रूपमा घोषणा हुनेछ।
यसअघि नै फागुन १८ गते पहाडी जिल्लामा मनाइने फागुपूर्णिमा र १९ गते तराई क्षेत्रमा मनाइने होलीका कारण बिदा रहनेछ। त्यसैले फागुन १६ गते शनिबारदेखि नै बिदाको क्रम सुरु भई देशभर चुनावी माहोल थप सक्रिय हुने देखिएको छ।
यस परिस्थितिमा देशभर कार्यालयहरू खुला रहने दिन फागुन १७ गते आइतबार मात्र पर्नेछ। यस्तो अवस्थाले कर्मचारी र सर्वसाधारण चुनावी अभियान तथा मतदान प्रक्रियामा बढी सहभागी हुने सम्भावना रहेको विश्लेषण गरिएको छ।
