काठमाडौं । लुम्बिनी प्रदेशको नवलपरासीमा सञ्चालित मारुती फुड पार्क प्रालि ले सन् २०२५ मा १ अर्ब २५ करोड ३० लाख रुपैयाँ बराबरको वस्तु बिक्री गरेको जनाएको छ। कम्पनीद्वारा सार्वजनिक तथ्यांकअनुसार एक वर्षमा १ अर्ब २५ करोडभन्दा बढीको कारोबार गर्दै उद्योगले निरन्तर सञ्चालन क्षमता कायम राखेको हो।
यद्यपि, यो कारोबार अघिल्लो वर्ष सन् २०२४ को तुलनामा ५३ करोड ४० लाख रुपैयाँ अर्थात् करिब २९.८८ प्रतिशतले कम हो। सन् २०२४ मा कम्पनीले १ अर्ब ७८ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो।
रेटिङ रिपोर्टअनुसार सन् २०२५ मा बिक्री परिमाण र औसत मूल्य दुवैमा आएको गिरावटले राजस्वमा संकुचन आएको उल्लेख छ। सञ्चालन नाफा मार्जिन ६.८१ प्रतिशत कायम रहेको छ, जुन सन् २०२४ मा ७.१४ प्रतिशत थियो। व्यापार घटे पनि खुद नाफा मार्जिन भने १.२० प्रतिशतमा स्थिर रहेको देखिएको छ।
वित्तीय अवस्था
कम्पनीको वित्तीय जोखिम प्रोफाइल केही चुनौतीपूर्ण देखिएको छ। सन् २०२५ को अन्त्यसम्म ओभरअल गेयरिङ अनुपात ३.५९ गुणा पुगेको छ, जुन अघिल्लो वर्ष ३.३४ गुणा थियो। कार्यशील पूँजी व्यवस्थापनका लागि बाह्य ऋणमा निर्भरता बढ्दा पुँजीगत संरचना ‘लिभरेज्ड’ बनेको उल्लेख गरिएको छ।
सन् २०२५ मा ब्याज तिर्ने क्षमता १.७५ गुणा रहेको छ। कुल ऋण र नगद मौज्दातको अनुपात सन् २०२४ को ६.९२ गुणाबाट बढेर २०२५ मा १७.२२ गुणा पुगेको छ, जसले नगद व्यवस्थापनमा दबाब देखाउँछ।
कम्पनीले कुल ७० करोड रुपैयाँ बराबरको बैंक कर्जा सुविधाका लागि रेटिङ गराएको छ। केयर रेटिङ्स नेपाल ले १९ करोड २९ लाख ९० हजार रुपैयाँको दीर्घकालीन कर्जालाई ‘केयर–एनपी बीबी माइनस’ र ५० करोड ७० लाख १० हजार रुपैयाँको अल्पकालीन कर्जालाई ‘केयर–एनपी ए फोर’ रेटिङ प्रदान गरेको छ।
उत्पादन क्षमता र बजार
नवलपरासीको रामग्रामस्थित कारखानाले वार्षिक ३३ हजार ८४० मेट्रिक टन धान प्रशोधन गर्ने क्षमता राख्छ। कम्पनीले तनिष्क, काठमाडौं गेट, बुद्ध गेट, सेतो हिमाल र एच एन्ड टी ब्रान्डमार्फत चामल उत्पादन तथा बिक्री गर्दै आएको छ।
देशका प्रमुख सहरमा वितरक सञ्जालमार्फत तथा फ्याक्ट्रीबाटै सिधा बजार पहुँच विस्तार गर्दै कम्पनीले आफ्ना उत्पादन बिक्री गरिरहेको जनाएको छ।
चुनौतीहरू
धान खेती मनसुनमा निर्भर हुने भएकाले उत्पादन र मूल्यमा हुने उतारचढावले उद्योगको सञ्चालनमा प्रभाव पार्ने गरेको छ। यस क्षेत्र अत्यन्त प्रतिस्पर्धात्मक र असंगठित भएकाले साना तथा मझौला उद्योगहरूको मूल्य निर्धारण क्षमता कमजोर रहने देखिन्छ। साथै बैंकिङ क्षेत्रमा तरलताको अभाव र ब्याजदरको उतारचढावले लागत बढाउने जोखिम रहेको उल्लेख छ।
सन् २०१९ मा स्थापना भएको उद्योग प्रबन्ध निर्देशक विनोद कुमार अग्रहरीको नेतृत्वमा सञ्चालन भइरहेको छ। कम्पनीले चुनौतीबीच पनि उत्पादन र बजार सञ्जाल सुदृढ गर्दै अघि बढिरहेको जनाएको छ।
