काठमाडौं । लक्ष्मी सन्राइज बैंक लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेको ३ लाख १६ हजार ३०६ कित्ता शेयर बिक्रीमा राखेको छ।
बैंकले सार्वजनिक सूचना जारी गर्दै विद्यमान संस्थापक शेयरधनीहरूलाई पहिलो प्राथमिकता दिएको छ। इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक विवरणसहित बैंकको मुख्य कार्यालय, हात्तीसार, काठमाडौंमा लिखित जानकारी दिनुपर्नेछ।
यस ३५ दिने समयावधि भित्र आवेदन नआएमा बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाउनेछ।
यस पहलले शेयरधनीहरूलाई लगानीको अवसर उपलब्ध गराउँदा बैंकको संस्थापक शेयरको तरलता बढाउने र बजारमा सहभागिता सुनिश्चित गर्ने उद्देश्य राखेको बैंकले जनाएको छ।
