नेपालमा विदेशी श्रमिकको संख्या बढ्दो: चिनियाँ, भारतीय र युरोपेली नागरिकको योगदान विशेष

  • Clock icon
    २०८२ फाल्गुन १५, शुक्रबार

काठमाडौं । नेपालमा विदेशी श्रमिकको संख्या हरेक वर्ष बढ्दै गएको छ। श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चीन, भारत, अमेरिका, बेलायत, क्यानडा लगायत ७४ देशका नागरिकले नेपालमा निर्माण, स्वास्थ्य, हवाई उडान र अन्य क्षेत्रमा काम गरिरहेका छन्।

गत आर्थिक वर्ष २०८१/८२ मा ८ सय ९२ जना विदेशीले नयाँ श्रम स्वीकृति लिएका थिए भने १ हजार ६ सय ६७ जनाले श्रम नविकरण गराएका थिए। यसरी कुल २ हजार ५ सय ५९ जना विदेशी श्रम इजाजत लिएर नेपालमा कार्यरत छन्। चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ३ सय ७३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने ७ सय ९३ जनाले नविकरण गराएका छन्, कुल १ हजार १६६ जना विदेशी श्रमिक रहेका छन्।

चिनियाँ नागरिक संख्यात्मक रूपमा सबैभन्दा धेरै श्रम स्वीकृति लिएर नेपालमा काम गरिरहेका छन्। प्रत्येक वर्ष करिब १ हजार ६ सय चिनियाँ नागरिक नेपालमा आएका छन्। बेलायत र जापानबाट पनि १०० भन्दा बढी नागरिक विभिन्न परियोजनामा संलग्न छन्।

भारतसँगको १९५० को सन्धिअनुसार भारतीय नागरिकलाई नेपालमा काम गर्दा श्रम स्वीकृति लिन नपर्ने व्यवस्था भएकाले उनीहरूको वास्तविक संख्या सरकारी रेकर्डमा छैन। तथापि, केही प्रतिष्ठानमा उच्चस्तरमा कार्यरत ३० जना भारतीय नागरिकले श्रम स्वीकृति लिएर काम गरिरहेका छन्।

विशेषगरी निर्माण क्षेत्रमा विदेशी नागरिकको उपस्थिति उल्लेख्य छ। सुरुङ, टनेल, जलविद्युत परियोजनाहरूमा विदेशी प्राविधिक कार्यरत छन्। चिनियाँ सहयोगमा स्थापित सिमेन्ट तथा जलविद्युत उद्योगहरूमा चिनियाँ नागरिक संलग्न छन्। ब्रिटिस स्कुलहरूमा युकेका नागरिक, जापानी परियोजनाहरूमा १०० भन्दा बढी जापानी नागरिक, केही अस्पतालमा विदेशी डाक्टर र एयरलाइन्स कम्पनीमा स्टेशन म्यानेजरको रूपमा विदेशी कार्यरत छन्।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार हाल करिब ७ लाख भारतीय मजदुर नेपालका निर्माण क्षेत्रमा कार्यरत छन्। मजदुर अभाव र प्रतिस्पर्धाका कारण भारतको गाउँगाउँबाट मजदुर ल्याउनुपर्ने स्थिति देखिएको छ। कतिपय अवस्थामा मजदुर पेश्की पाएका भए पनि अन्य कम्पनीको बढी प्रस्तावमा काम छाडेर जाने गरेका छन्। सिंहका अनुसार, नेपालमा भारतीय मजदुरको संख्या निर्माण क्षेत्रसहित २० लाखसम्म पुग्न सक्ने अनुमान छ।

विदेशी श्रमिकको बढ्दो उपस्थिति र दक्ष प्राविधिकको उपलब्धता नेपालका ठूला निर्माण र उद्योग परियोजनाको दिगो विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदैछ।

  • Clock icon
    २०८२ फाल्गुन १५, शुक्रबार