रौतहटमा बख्तरबन्दमार्फत नेपाली सेनाको गस्ती

  • Clock icon
    २०८२ फाल्गुन १७, आईतवार

निर्वाचनका समय रौतहटमा शान्ति सुरक्षा कायम राख्न पैदल, मोटरसाइकल, सवारी साधन तथा बख्तरबन्द गाडीमार्फत सेनाले गस्ती गर्न थालेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले रौतहट जिल्लामा तैनाथ नेपाली सेनाको श्री नारायणदल गणले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाएको छ ।

फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई लक्षित गर्दै सेनाले अत्याधुनिक सैनिक सवारी साधनसहित व्यापक सुरक्षा गस्ती तथा निगरानी सुरु गरेको जनाएको छ । जिल्लाका विभिन्न मतदान स्थलहरूमा एकैसाथ गस्ती परिचालन गर्दै सम्भावित जोखिमलाई नियन्त्रणमा लिन सक्रियता बढाएको छ । निर्वाचन मिति नजिकिँदै जाँदा सेनाले जिल्लाभर सुरक्षा सतर्कता उच्च पारेको हो ।

मतदान केन्द्र वरपर विशेष निगरानी राखिएको र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन कडा सुरक्षा प्रबन्ध मिलाइएको सेनाले जानकारी दिएको छ ।

श्री नारायणदल गण रौतहट जिल्लाका सबै १७ वटै स्थानीय तहमा तैनाथ रहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गर्दै संयुक्त गस्ती तथा सुरक्षा व्यवस्थापन भइरहेको जनाएको छ ।

निर्वाचनका लागी १० हजारभन्दा बढी सुरक्षाकर्मी र जनशक्ति परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाालले बताए ।

शान्तीपूर्ण वातावरणमा मतदान हुने भएकोले रौतहटका प्रमुख जिल्ला अधिकारी भुसालले मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।

 

 

अनलाइनखबरबाट साभार

 

  • Clock icon
    २०८२ फाल्गुन १७, आईतवार